आचरण विपरीत काम गरेको आरोपमा एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

आचरण विपरीत काम गरेको आरोपमा एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गृह मन्त्रालयले आचरण विपरीत काम गरेको आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया छन् । मन्त्रालयको मङ्गलबारको सचिवस्तरीय निर्णयले उनीहरुलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक कुँवरका अनुसार घटनाका विषयमा अहिले छानबिन भइरहेको र कसुरको मात्रा हेरि कारवाही हुनेछ । तीनै जनामाथि विगतमा कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहँदा आचरण विपरीत र गैरव्यावसायिक कार्य गरेको आरोप छ ।

यादव हाल महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रवक्ताका रुपमा, बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र चौरसिया इलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत छन् । मन्त्रालयका अनुसार उनीहरुले प्रहरी सङ्गठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीलाई असर पुर्याउने किसिमको कार्य गरेको जानकारी प्राप्त भई प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरेको पाइएको छ ।

मन्त्रालयले प्रहरी नियमावली, ०७१ विपरीत आचरण, व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टि हुन आएकाले थप जाँचबुझ एवं छानबिन गर्न प्रहरी नियमावली, २०७१ को नियम ११५ को (४) बमोजिम सचिवस्तरको निर्णय अनुसार बढीमा ६ महिनाका लागि निलम्बन गरिएको जनाएको छ । केही दिन अघि मात्रै मन्त्रालयले इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका प्रहरी नायब उपरीक्षक भरतराज चौधरीलाई पनि निलम्बन गरेको थियो ।

Skip This
Logo