पहिलो चरणमा ७ सय ३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

पहिलो चरणमा ७ सय ३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

केन्द्रबिन्दु
24
Shares

जेरुसेलम । इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७ सय ३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।

इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले हाल कारागार सेवाको हिरासतमा रहेका ७ सय ३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले शनिबार बिहानै युद्धविराम सम्झौतालाई अनुमोदन गर्न इजरायलको क्याबिनेटले मतदान गरेको र यो सप्ताहन्तमा युद्धविराम लागू हुने वा नहुने भन्ने अनिश्चितता अन्त्य भएको जनाएको छ ।

यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो। विस्तारित सूचीमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फताह पार्टीका सशस्त्र शाखाका प्रमुख जकारिया जुबेदी पनि थिए ।

सन् २०२१ मा इजरायलको गिल्बोआ जेलबाट अन्य पाँच जना प्यालेस्टिनीसँग जुबेदी भागेका थिए । रिहा हुनेमा प्यालेस्टिनी वामपन्थी सांसद खालिदा जरार पनि छन्, जसलाई इजरायलले गिरफ्तार गरेर कैयौँ पटक जेलमा राखेको थियो ।

जरार इजरायल, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ द्वारा ‘आतंकवादी सङ्गठन’ घोषित एक समूह प्यालेस्टाइनको मुक्तिको लागि लोकप्रिय मोर्चाको एक प्रमुख सदस्य हो । सन् १९६७ देखि इजरायलले कब्जा गरेको प्यालेस्टाइनी क्षेत्र वेस्ट बैंकमा डिसेम्बरको अन्त्यतिर पक्राउ परेका ६० वर्षीय उनलाई त्यसयता बिना कुनै अभियोग हिरासतमा राखिएको छ ।

हमासनिकट दुई स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार रिहा गरिने बन्धकको पहिलो समूहमा तीन जना इजरायली महिला सैनिक रहेका छन् ।
यद्यपि, प्यालेस्टिनी इस्लामी आन्दोलनले सैन्य उमेरको कुनै पनि इजरायलीलाई सैनिक मान्दछ ।

एएफपीले प्राप्त गरेको पहिलो चरणमा रिहा हुने ३३ बन्धकमध्ये पहिलो तीन जनाको नाम हमास आक्रमणको दिन सैन्य सेवामा नरहेका ३० वर्षमुनिका महिला रहेका छन् । न्याय मन्त्रालयका प्रवक्ता नोगा काट्जले पहिलो पटक रिहा हुने कैदीको अन्तिम सङ्ख्या हमासद्वारा रिहा गरिएका जीवित बन्धकहरूको सङ्ख्यामा निर्भर हुने बताएका छन् ।

Logo