सरकारी अभिलेखमै नभएको तथ्यांक प्रधानमन्त्रीद्वारा संसदमा प्रस्तुत

सरकारी अभिलेखमै नभएको तथ्यांक प्रधानमन्त्रीद्वारा संसदमा प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री केपी ओलीले आइतबार संसदमा सम्बोधनका क्रममा अधिकांश झुटो तथ्यांक प्रस्तुत गरेका छन् भने कतिपय तथ्यलाई तोडमोड गरेका छन् ।

सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रित रही तथ्यांकसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेका छन् । खासगरी मूल्यवृद्धि, शोधनान्तर स्थिति, विकास खर्च, पर्यटक आगमन, यातायात सिन्डिकेट हटेको प्रधानमन्त्रीको दाबी स्वयं सरकारी संयन्त्रको तथ्यांकसँग मेल खाँदैन ।

वर्तमान सरकार आइसकेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले १६ चैत ०७४ मा जारी गरेको श्वेतपत्रसँग प्रधानमन्त्रीको भाषणलाई तुलना गर्ने हो भने अझ विरोधाभाष देखिन्छ । अर्थतन्त्रको वर्तमान अवस्थालाई सन्तोषजनक मानेका प्रधानमन्त्रीको यो भाषण र श्वेतपत्रमा अर्थमन्त्रीको दाबी आफैँमा मेल खाँदैनन् ।

प्रधानमन्त्रीको दाबीः गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा यस आर्थिक वर्षको राजस्व संकलनमा ३२ प्रतिशत वृद्धि भएको छ ।

सरकारी तथ्यांकः महालेखानियन्त्रक कार्यालयको तथ्यांक अनुसार शनिबारसम्म कुल ४ खर्ब ५१ अर्ब ३५ करोड रुपैयाँ राजस्व उठेको छ । यो रकम कुल लक्ष्यको ४७.७३ प्रतिशत असुली हो । प्रधानमन्त्रीले भनेजस्तै गत वर्षको तुलनामा राजस्व संकलन वृद्धि भए पनि अर्थ मन्त्रालय स्रोतका अनुसार चालू आवको लक्ष्य अनुसार भने राजस्व संकलन पुग्न सकेको छैन । स्रोतका अनुसार खासगरी मंसिरमा भन्सारबाट कम राजस्व उठ्दा लक्ष्य पूरा भएको छैन ।

त्यस्तै व्यापारघाटाको तथ्यांक प्रस्तुत गर्दा पनि प्रधानमन्त्रीले झुट बोलेका छन् । उनले गत वर्षको तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा १ दशमलव ५ प्रतिशत मात्रै व्यापारघाटा बढेको उल्लेख गरेका छन् । तर यस वर्ष ५ महिनाको तथ्यांक आइसकेको छ र सो अवधिमा व्यापारघाटा साढे ३५ प्रतिशतले बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । व्यापारघाटाको यो अवस्था अत्यन्तै डरलाग्दो हो ।
नयाँ पत्रिकाबाट

Logo