काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा स्कटल्यान्डसँग नेपाल एक विकेटले स्तब्ध भएको हो ।
नेपालले जितका लागि दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले ९ विकेटको क्षतिमा १८.४ ओभरमा भेट्याउन सफल भयो । स्कटल्यान्डका लागि पिप्पा स्प्राउलले सर्वाधिक ३५ रनको योगदान गरिन् । उनको विकेट समयमै लिन नसक्नु नै नेपालका लागि हारको कारण बन्यो ।
त्यस्तै, ग्राबियल फोन्टेन्लाले १२ रनमा अविजित रहँदै टोलीलाई जिताइन् ।
बलिङतर्फ नेपालकी सिमाना केसी र रचना चौधरीले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । उनले ४३ बलमा तीन चौका हिर्काइन् । यसैगरी सावित्री धामीले १० रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।
बलिङतर्फ स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् । यस्तै अमी बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिइन् ।
यो हारले नेपालको सुपर सिक्सको लक्ष्य झनै कठिन बनेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । प्रत्येक समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गनेछन् । सुपर सिक्समा समान ६ देशको दुई समूह हुनेछ । । समूह ‘डी’ मा नेपाल सहित स्कटल्यान्ड, बंगलादेश र अस्ट्रेलिया छन् । अब नेपालले अस्ट्रेलियासँग खेल्न बाँकी छ, तर अस्ट्रेलियामाथि जित निकाल्न सहज छैन । किनकी त्यही टोली हो, जसले पहिलो खेलमै स्कटल्यान्डलाई ९ विकेटले हराएको थियो ।





























प्रतिक्रिया