छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलमा ४७ देशका ९८ चलचित्र प्रदर्शन हुने

छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलमा ४७ देशका ९८ चलचित्र प्रदर्शन हुने

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल–२०२५ माघ १७ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ ।

महोत्सव माघ १९ गतेसम्म तीन दिन आयोजना हुनेछ । विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्द्धनका लागि यो महोत्सव हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको छ। महोत्सवमा यस पटक ६० देशका चार सय भन्दा वढी चलचित्रको आवेदन परेको थियो।

ती चलचित्रमध्यबाट नेपालसहित ४७ देशका ९८ वटा चलचित्रहरु छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल–२०२५ मा प्रदर्शनको लागि चयन गरिएको छ । प्राप्त करिब ४०० वटा चलचित्रलाई प्रारम्भिक चलचित्र चयन समूहले करिव डेढ महिना लगाएर हेरेपछि सो समूहले ती ४०० चलचित्रबाट फाईनलका लागि ९८ वटा चलचित्रहरु चयन गरिएको हाे ।

महोत्सवमा लघु चलचित्रसँगै कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रलगायत महिला, बालवालिका, मानव अधिकारका चलचित्रहरु पनि प्रतिस्पर्धामा समावेश गरिएका छन्। दुई मिनेटदेखि साँढे दुई घण्टासम्मको चलचित्र महोत्सवको लागि चयन भएको छ। महोत्सवमा अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ।

जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन विराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाधिजादेह, बहराईनबाट चलचित्र निर्माता निर्देशक एवं लेखक इभा दाउद र रशियाबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।

नेपालबाट निर्णायकको रुपमा संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के.खनाल, अभिनेता प्रदीप खड्‌का र टेलिभिजनकर्मी टिकाराम यात्री अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङ्देन रहेका छन्।

महोत्सवमा दक्षिण एशियाली मुलुकहरू भारत, बंगलादेश, पाकिस्तानसहित पूर्वी एसियाको चीन, जापान, थाइल्यान्ड, कोरिया, यूएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, जस्ता देशका चलचित्रहरू चयन भएका छन् ।

यस्तै, संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, आयरल्यान्ड, जर्मनी, रसिया, ट्यूनेशिया, पोर्चुगल, पोल्यान्ड, हंगेरी, ग्रिस, फिनल्यान्ड, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक, अस्ट्रियासहित विभिन्न युरोपियन मुलुकका चलचित्र यो महोत्सवमा चयन भएका छन् । मोरक्को, इजिप्ट, जमैका, क्यामरुन, सर्भिया, दक्षिण अफ्रिकासहित विभिन्न अफ्रिकन देशका चलचित्र पनि यो महोत्सवमा फाइनलको लागि चयन गरिएको छ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तर्क्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत रहेको छ । चलचित्रको उद्घाटन समारोह काठमाडौंको दरवारमार्गस्थित क्युएस सिनेमा राईजिङ मल चलचित्र घरमा आयोजना गरिनेछ । उद्घाटन पछि सोही चलचित्र घरमा दुई दिनसम्म नियमित रूपमा चलचित्र प्रदर्शनीका साथैं चलचित्रका विविध विषयमा छलफल एवं अन्तर्क्रिया गरिनेछ।

त्यसपछि चलचित्र विकास बोर्डमा तीन दिनसम्म चलचित्र प्रदर्शनी, मास्टर क्लास, र कला प्रदर्शनी आयोजनासहित बोर्डमै महोत्सवको समापन समारोह गरिनेछ। महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायांकार लगायत उत्कृष्ट लघुचलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र, मानव अधिकारका चलचित्र जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।

यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ । विभिन्न फरकफरक विधाका उत्कृष्ट १५ वटा राष्ट्रिय तथा १५ वटा अन्तर्राष्ट्रिय गरी ३० चलचित्रहरुलाई पुरस्कृत गरिनेछ । साथै चलचित्र क्षेत्रमा योगदान दिएका व्यत्तित्वहरुलाई सम्मान गरिनेछ।

Logo