कष्टकर बन्दै सार्वजनिक यातायातः गन्तव्य र भाडाको छैन टुङ्गो

कष्टकर बन्दै सार्वजनिक यातायातः गन्तव्य र भाडाको छैन टुङ्गो


काठमाडौँ । संखुवासभा घर भएका अर्जुन पन्त हाल अध्ययनको सिलसिलामा बुढानीलकण्ठ नगरपालिकाको कपन (भंगाल) मा बस्दै आएका छन् । उनी प्लस–टु अध्ययन सकेर अहिले बागबजारस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तह (व्याचलर) पढ्छन् ।

आर्थिक अवस्था कमजोर भएका पन्तले नयाँ बानेश्वरमा जागिरको पनि सुरुवात गरेका छन् । पन्तको यो दूरीको चक्रलाई घटाउने एउटा मात्र माध्यम हो, सार्वजनिक यातायात ।

सार्वजनिक यातायात प्रयोगमा पन्तको दैनिक १०० रुपैयाँ हाराहारी खर्च हुन्छ । तर, उक्त यातायात प्रयोग गरेपछि पन्त न निश्चित समयमा कलेज आइपुग्छन्, न त अफिस नै पुग्छन् । पन्त भन्छन्, ‘ढिला हुन्छ भनेर एक घण्टा अगाडि निस्किँदा पनि कलेजमा पहिलो कक्षा छुट्छ, अफिस ढिला हुँदा तलबै काटिन्छ, घाटा बेहोरेर हिँडिरहन परेको छ ।’ सार्वजनिक यातायात प्रयोग गर्दा पन्तलाई समयले मात्रै होइन, भाडाले पनि पिरोलेको छ ।

‘जाँदा एउटा भाडा दिइन्छ, फर्किँदा सहचालकले फरक भाडा भन्छन्, बिहान यतिमा आएको अहिले यति किन भयो भनेर सोध्यो भने यति नै हो भाइ भाडा भनेर झर्किन्छन्,’ उनले भने । मान्छेलाई जुन ठाउँमा पनि ओराल्ने, चढाउने र रोक्दै लग्ने प्रवृत्तिले ढिला भएको पन्तको धारणा छ ।

विद्यार्थी परिचय पत्रलाई छुट नदिँदा विभागमै वा प्रहरीमा उजुरी गर्न सकिन्छ ।

यस्तै, अस्मिता श्रेष्ठ पनि बिहान सिर्जनानगरबाट सार्वजनिक यातायातको प्रयोग गरी कमलविनायकस्थित कलेज पुग्छिन् । कलेज छुट्टी भएपछि घर पुगेर दिउँसोको अफिस भ्याउन राधेराधेमा भएको कार्यालयमा आइपुग्छिन् । यो उनको दैनिकी हो ।

‘म निश्चित रकम लिएर हिँडेकी हुन्छ, गाडीपिच्छे फरक–फरक भाडा लिइरहेको हुन्छ, अनुमान गरेर बोकेको रकमले गन्तव्यमा पुग्न समस्या छ,’ उनले भनिन् । सार्वजनिक यातायात भरपर्दो र सुरक्षित नहुँदा उपत्यकाभित्रको यात्रा कठिन रहेको श्रेष्ठको भनाइ छ ।

यात्रा गर्दा धेरै पटक चालक वा सहचालकले तोकिएको भन्दा बढी भाडा लिएको भन्दै श्रेष्ठ गुनासो गर्छिन् । यात्राका क्रममा विद्यार्थी परिचय पत्र देखाउँदा बेलुकाको ८ बजे अगाडि भाडामा छुट पाउने तर ८ बजेपछि विद्यार्थी परिचय पत्रलाई मान्यता नै दिन अस्वीकार गर्ने गरेको श्रेष्ठ बताउँछिन् ।

‘सार्वजनिक बिदा र शनिबार बसहरूले छुट दिँदैनन्’ श्रेष्ठ भन्छिन्, ‘तोकिएको भाडाभन्दा बढी लिन्छन्, किन भनेर सोध्दा आज बिदाको दिन हो छुट हुँदैन यति नै हो भन्छन्’ उनले भनिन् । श्रेष्ठले सार्वजनिक यातायातमा बढी भाडा लिएमा कसलाई उजुरी गर्ने भन्ने नै थाहा नभएको दुःखेसो पोखिन् ।

अर्जुन र अस्मिता त प्रतिनिधि पात्र मात्र हुन् । दैनिक सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणले सिट नपाउने र कोचिँदै यात्रा गर्नुपर्ने समस्या भोग्नु सामान्यजस्तै बनिसकेको छ । पछिल्लो समय उपत्यकामा सार्वजनिक यातायातमा मनपरी भाडा असुली गर्ने प्रवृत्ति बढ्दै गएपछि दैनिक यात्रा गर्नुपर्ने विद्यार्थी र सर्वसाधारणहरूका लागि सार्वजनिक यातायातको यात्रा झनै कष्टकर बन्दै गएको छ ।

यातायातहरूले बढी भाडा लिएमा गुनासो गर्नका लागि १०३ मा फोन गर्न सकिन्छ ।

सार्वजनिक यातायातले ५–१० रुपैयाँ बढी लिँदा केही फरक नपर्ने जस्तो देखिए पनि दैनिक यात्रा गर्नुपर्ने सर्वसाधारणको जीवनमा यस्ता साना कुराले पनि ठूलो समस्या निम्त्याइरहेको हुन्छ । सार्वजनिक यातायात प्रयोग गर्दै आएका जोकोहीसँग यसको नमीठो भोगाइ छ भन्दा फरक पर्दैन ।

सार्वजनिक यातायात सञ्चालनलाई दिनप्रतिदिन अव्यवस्थित बन्दै जानु, व्यवस्थित बनाउन सरकारी ठोस योजनाहरू नबनाउन र विकल्प रोज्नमा ढिलाइ गर्नु आफैँमा पीडादायी विषय हुन् । विश्वव्यापी रूपमा सार्वजनिक यातायातको विकासले फड्को मारिसक्दा पनि नेपालमा दिनप्रतिदिन यात्रा असुरक्षित हुँदै जानुले भोलिका दिनमा विकराल समस्या पनि निम्तिन सक्छ ।

व्यवस्थापनमा के काम गर्दै सरकार ?

सार्वजनिक यातायात व्यवस्थापनमा सरकारसँग अहिलेसम्म कुनै ठोस योजना छैन । बजेटमा सार्वजनिक यातायातको सहजताका लागि रकमको सुनिश्चितता गर्न रकम छुट्टाए तापनि काम भने अहिलेसम्म केही देखिँदैन ।

यातायात व्यवस्था विभागका अधिकृत माधवराज पाण्डे यात्रुको आवतजावतको सहजताका लागि सरकारी निकायबाट पहल हुँदै गएको बताउँछन् ।

विद्यार्थी परिचय पत्र हुँदा भाडामा छुट दिने निर्णय गरेको तर ८ बजेपछि र शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि छुट हुने पाण्डेले जानकारी दिए । ‘हामीले संघीय सरकार मातहतबाट विद्यार्थी परिचय पत्रलाई ८ बजेपछि र शनिबारका साथै चाडपर्वहरूमा छुट नदिने निर्णय गरेको छैनौँ’,पाण्डेले भने ‘यातायात व्यवस्थापनका कतिपय कामहरू प्रदेश सरकारले पनि गर्छ, प्रदेश सरकारबाट त्यस्तो निर्णय भएको रहेछ भने त्यो यहाँ जानकारीमा छैन ।’ विद्यार्थी परिचय पत्रलाई छुट नदिँदा विभागमै उजुरी गर्न सकिने वा प्रहरीमा उजुरी गर्न सकिने पाण्डेको भनाइ छ ।

ट्राफिक प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले यातायातहरूले ८ बजेपछि विद्यार्थी परिचय पत्रलाई मान्यता नदिएमा वा बढी भाडा लिएमा ५०० देखि १ हजार ५ सयसम्म जरिवाना लाग्ने जानकारी दिए । घिमिरेले यातायातहरूले बढी भाडा लिएमा गुनासो गर्नका लागि १०३ मा फोन गर्न सकिने जनाए ।

‘हामीले बढी भाडा लिएको वा विद्यार्थी परिचय पत्रको छुट नदिएको गुनासो आउँदा ती यातायातका चालकलाई जरिवाना तिराएका घटनाहरू धेरै छन्’ घिमिरेले भने ‘१०३ मा फोन गरेर उक्त यातायातको नम्बर र रुटको जानकारी दिए हामी कारबाही प्रक्रिया अगाडि बढाउछौँ ।’

Logo