काठमाडौँ
वातावरण विषयका जानकारले जलवायु परिवर्तनका क्षेत्रमा राजनीतिक तहबाट गरिएका प्रतिबद्धतालाई कार्यान्वयन गर्न आवश्यक रहेकामा जोड दिएका छन् ।
स्वच्छ ऊर्जा नेपालद्वारा शुक्रबार यहाँ आयोजित अन्तक्रीया कार्यक्रममा उहाँहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरिएका राजनीतिक प्रतिबद्धता कार्यान्वयन भए जलवायु परिवर्तनका धेरै समस्या समाधान गर्न सहज हुने धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनका असरसँग जुध्न नेपालमा स्थानीयस्तरमा धेरै काम स्वतःस्फूर्त भइरहेको बताउँदै त्यस्ता कार्यलाई औपचारिकता दिई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धिको पक्ष राष्ट्रको २४ औँ सम्मेलन (कोप २४) नेपालको तर्फबाट उच्चस्तरमा नेपालको आफ्नो प्रतिबद्धता, धारणा र माग स्पष्टरुपमा उठाइएको जानकारीसमेत गराउनुभयो ।
वातावरणका क्षेत्रमा काम गर्दै आउनुभएका पूर्वमन्त्री दीपक ज्ञवालीले नेपालले जलवायुका क्षेत्रमा धेरै राम्रा नीति र कानून बनाएको भए पनि कार्यान्वयनको अवस्था भने दयनीय भएकोे बताउनुभयो । साथै उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वैकल्पिक ऊर्जाको उत्पादन र प्रयोग बढाउनु आवश्यक रहेको सुझाव दिनुभयो ।
स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भूषण तुलाधरले सरकारले पछिल्लो समय विभिन्न क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोगलाई बढुवा दिएकामा प्रशंसा गर्दै नेपालले अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जानु अघि पूर्ण तयारीका साथ जानुपर्ने बताउनुभयो ।
वन मन्त्रालयका पूर्वसचिव कृष्णचन्द्र पौडेलले वातावरण सुधारका लागि राजनीतिक प्रतिबद्धतासँगै प्रत्येक व्यक्तिले आफ्नो प्रतिबद्धता पनि गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । स्वच्छ ऊर्जा नेपालका सदस्य मञ्जित ढकालले कोप २४ का उपलब्धि र उक्त सम्मेलनमा नेपालले गरेका प्रतिबद्धताका बारेमा जानकारी गराउँदै स्थानीय तहका सरकारले नीति बानाउँदा जलवायु परिवर्तका विषयलाई पनि आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वातावरणका क्षेत्र कमल चलाउँदै आउनुभएका पत्रकार रमेश भुसालले जथाभावी निर्माण गरिने पूर्वाधारका कारण वर्षेनी प्राकृतिक विपद् बढ्दै गएको बताउँदै नागरिक समाज सक्रिय नभएसम्म जलवायु परिवर्तनका मुद्दा प्रभावकारी रुपमा समाधान गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा वातावरण क्षेत्रका विज्ञ सहभागीले जलवायु परिवर्तनका क्षेत्रमा देखिएका चुनौतीका सम्बन्धमा जिज्ञासा र सुझाव दिनुभएको थियो ।
रासस































प्रतिक्रिया