काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले आफ्ना सदस्य उद्योगहरुलाई सिमेन्ट प्रति बोरा (५० केजी) को अधिकतम रु ११५ भन्दा थप नहुने गरी विक्री मूल्य निर्धारण गर्न पत्राचार गरी अनुरोध गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत् प्रेस विज्ञप्ती जारी गर्दै संघले मूल्य निर्धारण गर्न अनुरोध गरेको हो ।
संघले नेपाल सरकारका सरोकारवाला अधिकारीहरुलाई सिमेन्ट उद्योगहरुमा निर्वाध र निरन्तर रुपमा बिना लोडसेडिंग विद्युत आपूर्तिको प्रबन्ध मिलाई दिन पनि आग्रह गरेको छ । नेपाल सरकार,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रीसंग छलफल, राय सुझाव तथा आम उपभोक्ताहरुको हितलाई समेत ध्यानमा राखी संघले सिमेन्टको विक्री मूल्य परिमार्जन गरेको हो ।
विकास निर्माणका कार्यहरु द्रुत गतिमा अगाडी बढाई देशको औद्योगिक उत्पादन र आर्थिक विकासमा टेवा पुगोस भन्ने मनसायका साथ मुल्य परिमार्जन गरेको संघले जनाएको छ ।
अरबौं लगानी गरि स्थापना भएका उद्योगहरुले मुनाफा गर्न नसक्दा ठूलो नोक्सानी भई नेपालमा संचालित कुल ६५ वटा सिमेन्ट उद्योगहरु मध्ये २२ वटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरु बन्द भईसकेको संघले जानकारी दिएको छ । थप नोक्सानी व्यहोरी उद्योग संचालन गर्दा अरु केहि उद्योगहरु समेत आर्थिक संकटका कारण बन्द हुन सक्ने संघको धारणा छ ।
झन्झटिला कानूनी साथै अन्य जटिलताहरुले गर्दा सिमेन्ट उद्योग सञ्चालन गर्न अत्यन्तै कठिन परिस्थिती भएकाले मूल्य बृद्धिमा समेत प्रभाव पर्न सक्ने संघले विज्ञप्तीमार्फत बताएको छ । साथै समस्याको सिघ्र निकास र समाधान खोज्न पनि नेपाल सरकारसंग संघले अपिल गरेको छ ।





























प्रतिक्रिया