दुई तिहाइको म्याण्डेटलाई रिस गर्न कसैलाई छुट छैन : मन्त्री अर्याल

दुई तिहाइको म्याण्डेटलाई रिस गर्न कसैलाई छुट छैन : मन्त्री अर्याल

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा

नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले वर्तमान सरकारकै पालामा देशमा समृद्धि आउने दावी गरेकी छिन् । बिहीबार कालीगण्डकी गाउँपालिका ५ को वीरेन्द्र माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले भनिन्, ‘समृद्द नेपाल, सुखी नेपाली ओली नेतृत्व सरकारकै पालामा हुन्छ । परिवर्तन हाम्रै नेतृत्वमा मात्र सम्भव छ ।’

विगतको सरकारले जनतालाई बोलेर झुक्याएको बताउदै उनले भनिन्, ‘अहिलेको सरकार बोल्ने होइन, काम गर्ने हो । सरकारको काम कार्वाहीको लोकप्रियतालाई देखेर प्रतिपक्षीको निद्रा हरण भएको छ । सरकार निर्माणसँगै सरकारसँग जनताको माग उच्च रहेकाले सामान्य रुपमा सरकारको विरोध आउनु स्वभाविक रहेको उनले बताइन् ।

‘जनताले बनाएको सरकारसँग आशा गर्नु स्वभाविक हो,’ उनले भनिन्, ‘संघीयता कार्यान्वयन र व्यवस्थापनका कारण ढिला भएको हो । अब फस्ट ट्रयाकमा काम हुन्छ ।’ जनताले सरकारसँग राखेको अपेक्षा स्वभाविक भएकोले जनताको निराश हुने खालको कार्य सरकारले नगर्ने उनले प्रतिबद्दता जनाइन् । देशको समृद्दि र नेपाली जनताका लागि सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर लाग्नुपर्ने उनले जोड दिइन् ।

‘देश विकासमा तिन तहको सरकारको भूमिका अहम् छ,’ उनले भनिन् ‘सहमति, सहकार्य र समन्वयले मात्र देशको विकास सम्भव छ ।’ देशको विकास र प्रगतिका लागि सत्ता पक्ष र विपक्ष सबै लाग्नु पर्ने उनको भनाई थियो । हिजो परिवर्तनका निम्ति सँगै सडकमा टायर बालेका, जेल परेका र सडकमा शंखघोष गर्दै हिँडेका कुरा प्रतिपक्षीले बुझेर दुई तिहाई सरकारको भावना बुझ्न प्रतिपक्षीलाई उनले आग्रह गरिन् ।

‘देशको नेतृत्व गर्न जनताले स्पष्ट बहुमत दिएको छ,’ उनले भनिन्, ‘जनताले दिएको म्याण्डेटको रिस गर्न कसैलाई छुट छैन ।’ अबको युग विकास र समृद्दिको युग भएकाले जनताका लागि काम गरिरहेको सरकारलाई अवरोध नगर्न चेतवानी उनले दिइन् ।
नागरिकबाट

Logo