धरौटीमा छुटेलगत्तै फेरि पक्राउ परिन् आशिका तामाङ

धरौटीमा छुटेलगत्तै फेरि पक्राउ परिन् आशिका तामाङ

केन्द्रबिन्दु
180
Shares

काठमाडौं । अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी अभियन्ता आशिका तामाङ धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परेकी छन् ।

माघ २ गते पक्राउ परी प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी आशिकालाई सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार धरौटीमा रिहा गरेको थियो । पशुपति क्षेत्र विकास कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् ।

प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप छ । पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन् ।

काठमाडौंस्थित प्रहरी बृत्त, गौशालाले उनको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्दा आज उनी १० हजार धरौटीमा रिहा भएकी हुन् । तर, तामाङ छुटेपछि फेरि गौशाला प्रहरीले आफ्नो साथमै कार्यालय लगेको छ । भक्तपुरस्थित प्रहरी बृत्त, जगातेमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइने भएको हो ।

तामाङविरुद्ध भक्तपुरमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । केही महिनाअघि भक्तपुर र काभ्रेको सिमानामा रहेको कैलाशनाथ महादेव मन्दिर क्षेत्र जोड्ने झोलुंगे पुल तरेको पैसा लिएको भन्दै उनले प्रवेश शुल्क लेखिएको बोर्ड निकालेर च्यातेकी थिइन् । साथै महिला कर्मचारीमाथि दूव्र्यवहार पनि गरेकी थिइन् । यही मुद्धामा उनलाई भक्तपुर प्रहरीले पनि अनुसनधान गर्न लागेको बुझिएको छ ।

Logo