ल्होसार पर्व मनाउन एक दिनकाे सरकारी बिदा पर्याप्त छैनः मुख्यमन्त्री लामा

ल्होसार पर्व मनाउन एक दिनकाे सरकारी बिदा पर्याप्त छैनः मुख्यमन्त्री लामा

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ल्होसार पर्वको मौलिक प्रकृति र मनाउने प्रक्रिया हेर्दा एक दिन सरकारी बिदा पर्याप्त नरहेको बताएका छन् ।

बिहीबार सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडीखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले ल्होसार टुँडीखेलमा महोत्सव गरेर मनाईँने पर्व मात्र नभएको भन्दै ल्होसार हरेक तामाङ समुदायले घर –घरमा विधि अनुसार मनाउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘ल्होसार पर्वको मौलिक प्रकृति र मनाउने प्रकृया हेर्दा आज जे गरिरहेका छौं सहि नै भयो भन्ने मलाई लाग्दैन । ल्होसार मनाउने सबै प्रकृया पूरा गर्नको लागि एक दिन सरकारी बिदा पर्याप्त छैन । ल्होसार टुँडीखेलमा महोत्सव गरेर मनाइने पर्व मात्र पनि होइन । जबसम्म प्रत्येक तामाङ समुदायको घर-घरमा विधि अनुसार मनाइँदैन, तबसम्म साँचो अर्थमा तामाङ जातिको संस्कृति पहिचानको जगेर्ना हुँदैन ।’

त्यस्तै, उनले अहिले तामाङ समुदाय संस्कृति पुनजागरणको चरणबाट गुज्रिरहेको बताए । एक जाति एक भाषा एक भेषाको सरकारी नीतिको कारण मौलिक संस्कार र संस्कृति लोप भएको भन्दै उक्त संस्कार र संस्कृतिको खोज अन्वेषण र अवलम्बन गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘यतिबेला तामाङ समुदाय संस्कृति पुनजागरणको चरणमा गुज्रिरहेको छ । हिजो एक जाति एक भाषा एक भेषाको सरकारी नीतिको कारण हाम्रा मौलिक संस्कार र संस्कृति लोप हुन पुगे । यसरी लोप भएको संस्कार र संस्कृतिको खोज अन्वेषण र अवलम्बन गर्ने कार्य गरेका छौं ।’

मुख्यमन्त्री लामाले ल्होसारलाई सार्वजनिक महत्व र कार्यक्रम भन्दा पनि घरभित्रको पर्वको रुपमा स्थापित गर्नुपर्ने बताए । विश्वव्यापीकरण र आधुनिकीकरणले नेपालको संस्कृतिमाथि प्रहार भइहरको बताउँदै उनले ल्होसार लगायत मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्न सरकार र नागरिक स्तरबाट ऐकेबद्धताको प्रयास गर्न आवश्यक रहेको बताए ।

Logo