बार काउन्सिल निर्वाचनः पाँच दलनिकट वकिलको वृहत् गठबन्धन, एमाले र माओवादी संगै, रास्वपा पनि मिल्ने सम्भावना

बार काउन्सिल निर्वाचनः पाँच दलनिकट वकिलको वृहत् गठबन्धन, एमाले र माओवादी संगै, रास्वपा पनि मिल्ने सम्भावना

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । नेपाल बार काउन्सिल निर्वाचनका लागि वकिलहरुले गठबन्धन बनाएका छन् । नेकपा एमालेले नेपाली कांग्रेससँग मिलेर सरकारको नेतृत्व गरिरहको भए पनि उसका निकट कानून व्यवयाहिरुले आफ्‌नो चुनावमा भने कांग्रेस इतरको गठबन्धन बनाएका छन् ।

कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको केन्द्रीय निर्वाचनको पूर्वसन्ध्यामा वृहत् प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धन बनेको हो । उक्त गठबन्धनमा नेकपा एमालेनिकट वकिलहरूको संगठन पिपिएलए, माओवादीनिकट आरपीएलए लगायत ५ दल निकट वकिलहरुबीच बृहत गठबन्धनको सहमति भएको हो ।

बार काउन्सिलको आगामी माघ २६ गते हुने निर्वाचनमा एमाले र माओवादीका उम्मेदवारलाई जिताउने र त्यसपछि फागुन २३ मा हुने नेपाल बारको निर्वाचनमा साझा उम्मेदवार बनाएर जाने सहमतिमा हस्ताक्षर भएको छ । सहमति पत्रमा एमालेनिकट पिपिएलएका अध्यक्ष भोजराज आचार्य, माओवादीनिकट आरपिएलएका अध्यक्ष रमण कुमार श्रेष्ठ, विप्लव नेकपानिकट पिएलएका अध्यक्ष कपिलचन्द्र पोखरेल, मोहन वैद्यनिकट एनपिएलएका अध्यक्ष देवकुमार मोक्तान र जसपानिकट एफएलएका अध्यक्ष दीपक राईले हस्ताक्षर गरेका छन् ।

गठबन्धनका अनुसार सात प्रदेश मध्ये ५ प्रदेशमा एमाले र २ प्रदेशमा माओवादीनिकट उम्मेदवार रहेका छन् । सातै प्रदेशमा एमाले माओवादी गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको छ । सोही सम्झौतामा आगामी नेपाल बार एशोसिएसनको निर्वाचनमा साझा हित दृष्टिकोण र प्रतिबद्धता निर्माण गरी एकताबद्धरुपमा अघि बढ्ने सहमति भएको उल्लेख छ ।

यो गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट संगठनलाई पनि समावेश गर्ने तयारी भइरहेको छ । संगठनका अध्यक्ष यज्ञमणि न्यौपानेले आफूहरू छलफलमा रहेको बताए । सो संगठनले बार काउन्सिलको निर्वाचनमा बागमतीमा एमालेनिकट पिपिएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई मत दिने सम्भावना छ ।

Logo