सुगममा जान ठेगाना परिवर्तनको चलाखी : कर्मचारी समायोजन

सुगममा जान ठेगाना परिवर्तनको चलाखी : कर्मचारी समायोजन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अहिले कर्मचारी स्थायी ठेगाना परिवर्तनमा व्यस्त छन् । समायोजन गरिँदा आकर्षक स्थानमा पर्न उनीहरू धमाधम ठेगाना परिवर्तनमा लागेका हुन् । कर्मचारी समायोजनमा स्थायी ठेगानालाई प्रमुख आधार मानिएको छ । कार्यरत स्थान र स्थायी ठेगाना मिले दुर्गममा जानुपर्ने बाध्यता छल्न कर्मचारीले ठेगाना परिवर्तनको चलाखी गरेका हुन् । एक हजार भन्दा बढी कर्मचारीले ठेगाना परिवर्तन गरिसकेका छन् ।

वरिष्ठता, कार्यरत प्रदेश वा स्थानीय तह, स्थायी ठेगाना, नागरिकताको ठेगाना र उमेरको ज्येष्ठतालाई समायोजनको आधार बनाइएको छ । निजामती किताबखानाका उपसचिव एवं प्रवक्ता राजेन्द्रप्रसाद पराजुलीले सुगममा ठेगाना सार्ने क्रम बढेको बताए । काठमाडौं, भक्तपुर र ललितपुरमा सरुवा हुन खोज्दा चाप बढेको छ । ‘एकै दिनमा सयभन्दा बढी कर्मचारीले ठेगाना परिवर्तन गराइरहेका छन्’, पराजुलीले भने । प्रदेश राजधानी, महानगर, उपमहानगर र जिल्ला सदरमुकाम ठेगाना सार्ने पनि त्यतिकै छन् ।

दुर्गम भत्ता लिन धेरै कर्मचारीले नक्कली ठेगाना पनि राखे । जिल्लावासीलाई दुर्गम भत्ता नदिइने नीति छल्न उनीहरूले ठेगान परिवर्तन गरिरहन्थे । समायोजनका लागि स्थायी ठेगानालाई आधार मानिएपछि सुगममा बसाइसराइँ गरी आउनेको संख्या बढेको किताबखानाका एक कर्मचारीले बताए । उनले भने, ‘हिजो दुर्गम भत्ता लिन नक्कली ठेगाना बनाए, अहिले सुगममा पर्न ठेगाना परिवर्तन गर्दैछन् ।’
अन्नपूर्णबाट

Logo