जेलबाट छुटेपछि हेलिकप्टर चढेरै गाउँ पुगे मेयर, स्वागतमा स्कुल नै विदा

जेलबाट छुटेपछि हेलिकप्टर चढेरै गाउँ पुगे मेयर, स्वागतमा स्कुल नै विदा

केन्द्रबिन्दु
0
Shares

गौर

हत्या अभियोगमा जेलमै रहेका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहलाई सर्वोच्च अदालतले सफाइ दिएपछि उनी हेलिकप्टर चढेर रौतहट आइपुगेका छन् ।

गत बैसाखदेखि जेल परेका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै रिहा गरेको हो । शनिबार दिउसो उनी हेलिकप्टर चढेर आफ्नो नगरपालिका कटहरिया आइपुगेका हुन् ।

दिउसो करिव दुई बजे कटहरियास्थित जनता माविको प्रांगणमा उनी हेलिकप्टरबाट उत्रिएका थिए । मेयर कुश्वाह आउने सुचना पाएका स्थानीय तथा उनका शुभ चिन्तकहरु बिहानैदेखि बिद्यालयको चौरमा जम्मा भएका थिए ।

मेयर कुश्वाहलाई सयौं स्थानीय तथा कार्यकर्ताले स्वागत तथा सम्मान गरे । कटहरिया बजारपछि जुगौलियामा पनि कुश्वाहलाई स्वागत तथा सम्मान गरियो । न्यायको जीत भएको, कटहरिया नगरको विकासको जीत भएको प्रतिक्रिया दिँदै कुश्वाहले प्रतिक्रियावादीहरुले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए ।

काठमाडौंबाटै हेलिकप्टरमा मेयर कुश्वाहसँगै प्रतिनिधि सभा संसद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साह, प्रदेशसभा सदस्य कुन्दन कुश्वाह समेत रौतहट आएका थिए ।

अभिभावक विहीन बनेको नगरपालिकाले न्याय पाएको र आगामी दिनमा कटहरिया नगरपालिकाले विकासको गति लिने संसद साहको भनाइ थियो । मेयर कुश्वाह निर्दोष सावित भइ जेलबाट रिहा भएको खुसियालीमा आइतबार नगरभित्रका सामुदायिक विद्यालयमा विदा नै दिइएको छ । नगरपालिका तथा वडा कार्यालयहरुमा समेत विदा दिइएको प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले जानकारी दिए ।

विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष काशिनाथ तिवारीको हत्याको आरोपमा उच्च अदालतले जन्मकैद सजाय सुनाइएका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै सफाइ दिएको थियो ।
अन्नपूर्णबाट

Logo