सांसदहरुले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले कर्मचारी समायोजन अध्यादेश फिर्ता गरि प्रदेश र स्थानीय तहको कानुन निर्माण गर्न, निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न तथा उखुको समर्थन मुल्य निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद पुष्पा भुसाल गौतमले निर्मला पन्तको बलात्कारपछि हत्याका दोषिलाई सार्वजनिक गर्न माग गरिन् । सरकारका मन्त्रीले दोषी पत्ता लगाईसकेका छौं छिटै सार्वजनिक गर्छौ भनेको निकै समय भएको भन्दै उनले दोषी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराईन् ।
दोषी सार्वजनिक गर्दा प्रतिपक्षीले राजनीतिक छाता ओढाउन नआउनु भनिएको उल्लेख गर्दै उनले भनिन्, “हामी निर्मला पन्तको परिवार र प्रदिप रावल र विशाल चौधरीलाई न्यायको छाता ओढाउन चाहन्छौं ।”
राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले दोषी पत्ता लागिसकेको भन्दै विधि र प्रक्रिया पुरा गरि सार्वजनिक गरिने उल्लेख गर्दै दोषीलाई बचाउन कोही पनि राजनीतिक छाता ओढाउन नआउन आग्रह गरेका थिए ।
निर्मला पन्तको बलात्कारपछिको हत्यारालाई नियन्त्रणमा लिने विषयमा सरकार बेखबर भएर बसिरहेको आरोप उनको आरोप छ । निर्मला पन्तको प्रमाण नष्ट गरेका सुरक्षा अधिकारीलाई अनुसन्धानको दायरामा ल्याई कसको आदेशबाट ती प्रमाण नष्ट गरियो भन्ने कुरा बाहिर आउनुपर्ने माग गरिन् ।
सांसद गगन कुमार थापाले सरकारले लोकतान्त्रिक पद्धतिको गलत व्याख्या गर्ने काम गरेको आरोप लगाए । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएकै दिन नेकपाका अध्यक्षले पुष्पकमल दाहालले लोकतान्त्रिक प्रणाली छिटो छिटोे विकास हुने प्रणाली होइन भनी दिएको अभिव्यक्तिलाई उनले, “नाच्न नजान्ने आँगन डेढो” को संज्ञा दिए । उनले सरकारलाई आफ्नो अनुहार ऐनामा हेर्न पनि आग्रह गरे ।
उनले कि बोल कि पोल भन्ने दुई शैलीमा प्रधानमन्त्री देखिएको टिप्पणी गरे । संसद छलेर कर्मचारी समायोजन अध्यादेश ल्याईएको तथा लोकसेवाको परामर्शलाई लत्याउने काम भएको भन्दै उनले तत्काल कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन सरकारलाई चेतावनी दिए ।
सांसद तेजुलाल चौधरीले संविधानबाट निर्वाचित व्यक्ति रेशम चौधरीलाई संसदमा उपस्थिति नगराई झुटा मुद्धा लगाएर जेलमा थुनिएको भन्दै सबैलाई समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, “नेपालमा कतिवटा छ संविधान कतिवटा छ म सरकारलाई प्रश्न गर्न चाहन्छु ।” उनले संविधान संसोधन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद महिन्द्रराय यादवले विगतमा मधेस आन्दोलनका क्रममा भएको सहमति सम्झौता पालना गरि त्यसक्रममा भएका अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
उनले अबिलम्ब संविधान संसोधन प्रस्ताव संसदमा दर्ता गराउन सरकारको ध्यानाकर्षण गराए । उनले उखुको मिल संचालन गर्दै मुल्य तोक्ने काम तत्काल गर्न माग गरे । कर्मचारी समायोजन अध्यादेश फिर्ता गर्न समेत माग गरे ।
सांसद ह्दयेश त्रिपाठीले उखुको समर्थन मुल्य तोक्न र चिनी मिल संचालन गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउदै सो विषयमा सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरे ।
सांसद प्रेम सुवालले अजय सुमार्गी भन्ने व्यक्तिको कम्पनिबाट स्रोत नखुलेको ९० करोड रुपैया जम्मा भएको भन्ने सम्बन्धमा सदनलाई सत्य तथ्य जानकारी गराउन माग गरे ।





























प्रतिक्रिया