डिजिटल भुक्तानीमा नयाँ आयाम थप्दै ‘कोइली’

डिजिटल भुक्तानीमा नयाँ आयाम थप्दै ‘कोइली’


काठमाडौं । नेपालमा डिजिटल भुक्तानीको प्रयोग व्यापक रुपमा बढिरहेको छ, जसलाई मध्यनजर गर्दै डेढ वर्षदेखि सञ्चालनमा छ ‘कोइली’ । ‘कोइली’ नामक यो तत्काल भुक्तानी सूचना उपकरणले आम सेवा ग्राहीलाई एउटा डिजिटल युगको नयाँ अनुभव प्रदान गर्छ ।

व्यवसायिक प्रयोजनको लागि प्रयोग हुँदै आएको यो उपकरणले क्यूआरबाट भुक्तानी गर्दा पैसा प्राप्त भयो कि भएन भनेर मोबाइल हेरेर राख्नुपर्ने झन्झटको अन्त्य गरेको छ । उक्त डिभाइसको क्यूआर प्रयोग गरी भुक्तानी गर्दा पैसा आएको सो डिभाइसबाट आवाज पनि आउने भएकाले मोबाइल हेरिराख्नु नपर्ने भएको हो ।

आईटी कम्पनी बिट्सक्राफ्ट प्रा.लि. ले तयार गरेको यो सिस्टम पछिल्लोसमय बजारमा ठूलो संख्याले प्रयोग गर्न थालिसकेका छन् । अझ निरक्षर, वृद्ध वृद्धा वा शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि यो डिभाइस निकै उपयोगी रहेको कम्पनीकी बिजनेश डेभलपमेन्ट अफिसर निकिता श्रेष्ठले बताइन् ।

श्रेष्ठ भन्छिन्, ‘कतिपय पसलहरु वृद्ध वृद्धाहरुले चलाएका हुन्छन् त कतिपय व्यक्तिहरु पढलेख गर्न नजान्ने हुन्छन्, जसलाई ग्राहकले तिरेको पैसा आएको नआएको थाहा पाउन मोबाइल नै खोलेर हेर्न कठिन हुन्छ । त्यस्ता व्यक्तिहरुका लागि क्यूआरसहितको यो उपकरण निकै उपयोगी हुन्छ ।’

यो उपकरण भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मा प्रदर्शनीमा छ ।

ग्राहकले पैसा भुक्तानी गरेलगत्तै उक्त कोइली नामक उपकरणले जति पैसा प्राप्त भएको हो सो बोलेर सुनाउँछ, जसको प्रयोगले डिजिटल ठगीको जोखिम कमी हुने र विशेषगरी शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि पनि व्यापार सहज हुने श्रेष्ठको भनाई छ ।

उनका अनुसार उक्त उपकरण प्रयोग गर्दा व्यापारमा आफ्ना छोराछारीको बैंक खाताको क्यूआर प्रयोग गर्ने व्यापारीहरुले पनि पैसा आएको नआएको सोध्न फोन गरिराख्नुपर्ने झन्झट हट्नेछ ।

यस उपकरणले क्यूआरबाट आएको रकम बोल्ने मात्र नभई दिनमा कति पटक रकम प्राप्त भयो सो पनि देखाउने र दिनको अन्तिममा कति लेनदेन भयो पनि जानकारी गराउने श्रेष्ठले जनाइन् । राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक लिमिटेड र मुक्तिनाथ बैंक लिमिटेडलगायतका बैंकहरुबाट उक्त उपकरणको सेवा लिन सकिने उनको भनाई छ ।

बैंकहरुमा गएर यस उपकरणको बारेमा सहजै जानकारी र निकै कम शुल्कमा सेवा पनि लिन सकिन्छ । बैंकबाट उक्त उपकरणको सेवा लिँदा महिना महिनामा निश्चित रकम तिर्नुपर्ने र बिग्रिँदा पनि बैंकलाई नै खबर गर्दा कम्पनीले निःशुल्क मर्मत गरिदिने र यदि उपकरण पुरै खराब हुँदा पनि निःशुल्कमै नयाँसँग साट्न मिल्ने श्रेष्ठले जानकारी दिइन् ।

चार्ज पनि गर्न मिल्ने उक्त उपकरणले चार्ज सकिनै लाग्दा पनि बोलेरै सुचित गर्ने भएकाले हाल उपभोक्ताहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको श्रेष्ठले जनाइन् ।

त्यस्तै, आईटी कम्पनी बिट्सक्राफ्ट प्रा.लि.का डिजाइनर रविन कटेलले मोबाइल एपबाट उपकरणले बोल्ने भाषाहरु पनि परिवर्तन गर्न मिल्ने जानकारी दिए । उनका अनुसार नेपाली, नेवारी, मैथिली, भोजपुरी र अंग्रेजी भाषा लगायतका पाँच भाषाहरुमा उपकरणले भुक्तानीको सूचना दिन्छ ।

बैंकहरुको क्यूआरबाट भुक्तानी गर्दा भुक्तानीको सूचना अंग्रेजी भाषामा आउने तर ‘कोइली’ उपकरणले भने नेपालीसहित अरु चार भाषाबाट बोलेरै सूचना दिने भएकाले यो उपकरण अरु क्युआर डिभाइसभन्दा निकै सहज र प्रभावकारी भएको डिजाइनर कटेलको भनाई छ ।

‘कोइली’ नामक भुक्तानी सूचना उपकरण कम्पनीले डिजिटल ठगी हटाउन र असाक्षर व्यक्तिका लागि व्यापार सहज बनाउने उदेश्यले बनाएको कटेलले जानकारी दिए । यो उपकरण बोल्ने भएकाले यसलाई ‘कोइली’ नाम दिइएको उनको भनाई छ । हाल काठमाडौंमै लगभग ४ हजार वटा यो उपकरणहरु प्रयोग भइरहेको र अरु जिल्लाहरुमा विस्तार भइरहेको डिजाइनर कटेलले जानकारी दिए ।

Skip This
Skip This
Logo