मेलम्चीका सबै प्राविधिकले नेपाल छाडे सुुरुङ : निर्माणको काम ठप्प

मेलम्चीका सबै प्राविधिकले नेपाल छाडे सुुरुङ : निर्माणको काम ठप्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी ई–सेमेन्टेस्टी (सिएमसी दी रेभेन्ना) मा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् । अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१ जना त्यसअघि नै फर्किएका हुन् ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले ६ पुसमा अध्यागमनलाई पत्राचार गर्दै कम्पनीका कर्मचारीलाई स्वदेश फिर्तामा रोक नलगाउन निर्देशन दिएको थियो । त्यसअघि १ पुसमा भने स्वदेश फिर्तीमा रोक लगाउन पत्राचार गरिएको थियो ।

मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ठेकेदार कम्पनीका सबैले नेपाल छाडेको बताए । उनले भने, ‘सुरुङ निर्माणमा आबद्ध ठेकेदार कम्पनीका सबैले नेपाल छाडेका छन् । क्रिसमस मनाउन भन्दै उनीहरू जान खोजे  । छाडेको काममा पछि फर्किन्छौँ भने । त्यसपछि कसैलाई रोक नलगाउन आदेश दिइएको हो ।’ मन्त्रालयको आदेशपछि प्रहरीले १ पुसको मध्यरातमा ठेकेदार कम्पनीका म्यानेजर इटालियन नागरिक ग्रेसो क्रिस्टियनसहित आठ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये ६ जनाको पासपोर्ट जफत गरिएको थियो  । अन्यलाई भने उच्च निगरानीमा राखिएको थियो । तर मन्त्रालयले स्वदेश फिर्तीमा रोक नलगाउन विभागलाई पत्राचार गरेपछि उनीहरूले नेपाल छाड्न थालेका थिए ।

ठेकेदार कम्पनीका कुनै पनि प्राविधिक निर्माणस्थलमा नभएपछि सुुरुङ निर्माणको काम अहिले ठप्प छ । जुन सम्झौता विपरीत हो । ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता अनुसार कम्पनीले निर्माणस्थल पूर्णरूपमा छाड्न मिल्दैन । न काम रोक्न नै मिल्छ । मन्त्रालय स्रोतका अनुसार कम्पनीमा आबद्ध प्राविधिक काममा फर्कने÷नफर्कने कुनै टुंगो छैन । मन्त्रालयका सचिव ठाकुरले क्रिसमस सकिएको सात दिनपछि उनीहरू काममा फर्कने दाबी गरे पनि ढुक्क हुने स्थिति नभएको बताए  । कम्पनीमा १४ इटालियन, ३ फिलिपिनो, ७ कोलम्बियन, २ चाइनिज र १ दक्षिण अफ्रिकन कार्यरत थिए ।
नयाँ पत्रिकाबाट

Logo