(रामजी बलामी)
जनताका अभिभावक हुन् नेता । जसरी एउटा बच्चाले आफ्नो अभिभावक खोजी गर्छ त्यसरी नै जनताले पनि नेताको खोजी गरिरहन्छ । चाहे नेताले वेवास्तै किन नगरुन् । नेतालाई तौलिने र छान्ने भनेकै जनताले हो । नेताहरुलाई डष्टविनमा फाल्ने कि रातो कार्पेट ओछ्याउने भन्ने निक्र्यौल जनताले नै गर्दछन् ।
गणतन्त्रमा त झन जनता नै सर्वेसर्वा हन्छन् । जनताले नेतालाई हुत्याउने र सुम्सुम्याउने मात्रै होईन उनीहरुको ‘वाच’ पनि गरिरहेका हुन्छन् । आफुले छानेका नेताले देश र जनताका लागि के कस्तो काम गर्दैछ भन्ने कुरा उनीहरुले लेखेर, बोलेर वा हृदयबाट मुल्यांकन गरिरहेका हुन्छन् । जनताको मुल्यांकनमा थोरै अंक आउनु भनेको नेताको राजनीतिक जीवनमा खडेरी लाग्नु हो ।
भिजन, मिसन, स्ट्राटेजी, कन्ट्रोभर्सी ईत्यादिले नेतालाई चर्चामा ल्याई दिन्छ । यिनै कारणले जनताले नेतालाई खोजी गर्छन् । नेताको नीति, रणनीति र कार्यशैली बुझ्न र आफ्नो धारणा दिन जनताले नेताको नाम ‘सर्च’ गर्छन् । नेपालमा मात्रै होईन बिश्वमै सबैभन्दा बढी प्रयोग हुने सर्च ईन्जिन हो गुगल । त्यसकारण हामीले तुलनात्मक अध्ययनका लागि गुगललाई नै मुख्य माध्यम बनाएका छौ ।
प्रचण्ड र बाबुरामलाई भन्दा ज्ञानेन्द्रलाई खोज्ने धेरै
तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई अहिले छिन्नभिन्न अवस्थामा छन् । प्रचण्ड, तत्कालिन नेकपा एमालेसँग पार्टी एकता गरेर बनेको नयाँ पार्टी नेकपाका अध्यक्ष बनेका छन् भने बाुबराम नयाँ शक्ति नेपालका संयोजक छन् । आर्थिक क्रान्तिको नारा बोक्दै तत्कालिन माओवादीबाट छुट्टिएर नयाँ पार्टी गठन गरेका बाबुराम सोसल मिडियामार्फत जनचासोमा मुद्धाहरु उठाउने र सरकारलाई सचेत बनाउने काममा सक्रिय छन् ।
गणतन्त्रको आगमनसँगै विस्थापित राजतन्त्रका अन्तिम राजा ज्ञानेन्द्र शाह करिव गुमनाम छन् । यद्यपि पछिल्लो केही बर्ष यता उनको सक्रियता बाक्लिएको छ । पूजापाठदेखि गोप्य छलफलमा समेत उनको उपस्थित बाक्लिँदै गएको छ । पूर्वराजा ज्ञानेन्द्र पछिल्लो समय राहत वितरणदेखि भोजभतेर लगायतका औपचारिक समारोहमा विस्तारै छाउन थालेका छन् । यसै बर्ष उनले राजधानीको एक होटलमा आयोजित समारोहमा नृत्य समेत गरेका छन् ।
एकातिर गणतन्त्रको नाममा मुलुकमा मनपरितन्त्र हावी हुँदै जानु र अर्काेतिर पूर्वराजा ज्ञानेन्द्रले राजनीतिमा चासो देखाउनु । यिनै कारण पछिल्लो समय मुलुकमा राजतन्त्रको बहस सिर्जना हुन पुगेको छ । सम्भव र असम्भव दुबै नभएको राजतन्त्रलाई नयाँ रुपमा स्थापित गराउने ध्याउन्नमा रहेका ज्ञानेन्द्रलाई यतिबेला जता गयो उतै भब्यरुपमा स्वागत गर्नेहरुको पनि कुनै कमी छैन ।
त्यसैकारण पनि हुन सक्छ बर्ष २०१८ सर्वाधिक खोजीको सूचिमा गणतन्त्र ल्याएको दावी गर्दै आएका प्रचण्ड र बाबुरामलाई पूर्व राजाले ‘पछारेका’ छन् । औषतमा ज्ञानेन्द्रलाई ५५ प्रतिशतले खोज्दा प्रचण्डलाई ५३ प्रतिशत र बाबुरामलाई २२ प्रतिशतले खोजेका छन् ।
तथ्यांकमा पूर्वराजा ज्ञानेन्द्र र पूर्व प्रधानमन्त्री प्रचण्डबीच लछापछार देखिन्छ । ज्ञानेन्द्रले १४ पटक पछार्दा प्रचण्डले १२ पटक पछारेका छन् । ज्ञानेन्द्रलाई जनवरी, फेब्रुअरी, मे, जुन जुलाई, अक्टुवर र डिसेम्वरमा सबैभन्दा बढी खोजिएका छन् । त्यस्तै प्रचण्डले फेब्रुअरी, मार्च, मे, अगष्ट, सेप्टेम्वर र डिसेम्वरमा बढी खोजिएका छन् ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भने प्रचण्डलाई झिनो अन्तरमा एक ठाउँमा पछारेका छन् तर पूर्वराजा ज्ञानेन्द्रलाई भने छुन समेत सकेनन् । पछिल्लो दिनहरुको तथ्यांक नियाल्दा ज्ञानेन्द्र उभोँ लागेको अवस्था छ भने प्रचण्डको यात्रा ओरालो देखिन्छ भने बाबुराम सुस्त गतिमा ओकालो चढीरहेको देखिन्छ ।
देशगत रुपमा अध्ययन गर्दा कतार, युएई, भारत, जापान, न्युजिल्याण्ड, फिन्ल्याण्ड, थाइल्याण्ड र ब्राजिलबाट प्रचण्डलाई सबैभन्दा धेरै खोजिएको छ । पोर्चुगल, क्रोएसिया, अष्ट्रिया, आइसल्याण्ड र इन्डोनेसियामा पूर्वराजा ज्ञानेन्द्रको खोजी अत्याधिक हुँदा प्रचण्ड र बाबुरामको खोजी शून्यसावित छ । प्रचण्डलाई स्पेन, सिंगापुर, अष्टेलिया, जर्मनी, युके, फ्रान्स, नेपाल र इटलीमा बढी खोजी गरिएका छन भने ज्ञानेन्द्रलाई नर्वे, चेक, साउदीबाट सर्वाधिक खोजी गरिएको छ । त्यस्तै बाबुराम भट्टराईलाई भने क्यानडामा मात्रै बढी खोजिएको देखिन्छ ।
नेपालको तथ्यांक हेर्दा प्रचण्डको लोकप्रियता बढी छ । औषतमा प्रचण्डलाई ४५ प्रतिशतले खोज्दा ज्ञानेन्द्रलाई ३१ प्रशितले खोजेका छन् भने बाबुरामलाई २३ प्रतिशतले खोजेका छन् । यो बर्ष मध्यपश्चिमाञ्चलमा प्रचण्डको सर्वाधिक खोजी गरिएको छ ।
नेपालमा ओली, विदेशमा प्रचण्ड
पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली दुबै जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष हुन् । बर्ष २०१८ मा पार्टी एकिकरणदेखि सत्ता हस्तान्तरणसम्मका राजनीतिक गतिविधिहरु भए । आम सर्वसाधारणले भने प्रचण्डलाई भन्दा प्रधानमन्त्री ओलीलाई सर्वाधिक खोजी गरेको पाइयो । यो बर्ष प्रधानमन्त्री ओलीको विकासको सपना, आलोचना र राजनीतिक घटनाक्रमले गर्दा पनि सर्वाधिक चर्चा भएको थियो ।
गुगलले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रधानमन्त्रीलाई ३२ प्रतिशतले खोज्दा प्रचण्डलाई २३ प्रतिशतले मात्रै खोजेका छन् । फेब्रुअरी, अप्रिल र अक्टुवर महिनामा प्रधानमन्त्री ओलीको सर्वाधिक खोजी भएको देखिन्छ । ब्राजिल, स्पेन, इटली, फ्रान्स, नर्वे, पाकिस्तान, चीन, फिन्ल्याण्ड लगायतका देशहरुबाट प्रचण्डको सर्वाधिक खोजी भएको छ । प्रधानमन्त्री ओलीलाई भने हङकङ, अष्ट्रेलिया, जापान, युएई, साउदी अरव, दक्षिण कोरिया, कतार, नेपाल लगायतका देशहरुबाट सबैभन्दा बढी खोजिएका छन् ।
नेपालमा भने प्रधानमन्त्री ओलीलाई ४१ प्रतिशतले खोज्दा प्रचण्डलाई जम्मा १८ प्रतिशतले खोजेका छन् । अक्टुवर र फेब्रुअरीमा प्रधानमन्त्री ओलीलाई सर्वाधिक खोजी गरिएको छ । क्षेत्रगत रुपमा हेर्दा काठमाडौंमा ७२ प्रतिशतले प्रधानमन्त्री ओलीलाई खोज्दा २८ प्रतिशतले मात्रै प्रचण्डलाई खोजेका छन् । सुदुर पश्चिमाञ्चल क्षेत्रबाट शतप्रतिशत प्रचण्डलाई खोजिरहँदा अन्य ४ वटा विकास क्षेत्रमा भने प्रधानमन्त्री ओलीलाई सबैभन्दा धेरै खोजिएको छ ।
गगन थापा भन्दा पारस शाह खोज्ने धेरै
नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापा पछिल्लो समय पार्टीभित्रै संघर्ष गरिरहेका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापा कांग्रेसमा बृद्ध नेताहरुलाई हटाएर युवापुस्तालाई अवसर दिनुपर्ने बताउदै आएका छन् । कांग्रेसमा कोही सर्वाधिक चर्चामा छन् भने उनी गगन थापा नै हुन् । तर उनै थापालाई भन्दा पूर्व युवराज पारस शाहलाई बढी खोज्ने गरेको देखिन्छ । गुगलको तथ्यांक हेर्दा पारसलाई ३४ प्रतिशतले खोज्दा गगनलाई जम्मा २५ प्रतिशतले खोजी गरेका छन् ।
साउदी अरवमा गगन थापाको वर्चस्व रहँदा नेडरल्याण्ड, थाइल्याण्ड, सिंगापुर, न्युजल्याण्ड, अमेरिका, युके लगायतका देशहरुबाट भने पारसको खोजी धेरै हुने गरेको छ । नेपालको तथ्यांक नियाल्दा भने गगन थापालाई ३५ प्रतिशतले खोज्दा पारसलाई २५ प्रतिशतले खोज्ने गरेका छन् ।
रविन्द्र मिश्र र कमल थापाको लछारपछार
विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्र र राप्रपा नेपालका अध्यक्ष कमल थापा दुवै सोसल मिडियाप्रति क्रेजी छन् । मुलुकमा नयाँ क्रान्ति ल्याउने उद्घोषका साथ राजनीतिमा होमिएका मिश्र र हिन्दु राज्य र राजतन्त्रको वकालत गर्दै आएका थापा दुबैलाई आम सर्वसाधारणले करिव बराबरी नै खोज्ने गरेको तथ्यांकले देखाउँछ । बिश्वव्यापी तथ्यांक अनुसार कमल थापालाई ११ प्रतिशतले खोज्ने गरेको भने मिश्रलाई १० प्रतिशतले खोज्ने गरेको देखिन्छ । गत बर्षको डिसेम्वरको अन्त्यमा थापालाई खोज्ने धेरै थिए तर यो बर्षको अन्त्यतिर आईपुग्दा भने मिश्रलाई खोज्ने धेरै देखिन्छ ।
युके, भारत, अष्टेलिया, अमेरिकाबाट थापालाई सर्वाधिक खोज्ने गरेको देखिन्छ भने नेपालबाट मिश्रलाई सबैभन्दा धेरै खोज्ने गरेको पाइयो । नेपालमा औषत १८ प्रतिशतले मिश्रलाई खोज्दा १५ प्रतिशतले थापालाई खोजेका छन् । जुलाईदेखि अगष्टसम्म दुबै नेतालाई झण्डै समानरुपमा खोजेको तथ्यांकले देखाउँछ । पूर्वाञ्चलमा मिश्रलाई सर्वाधिक खोजी गरेको देखिन्छ भने मध्यमाञ्चलमा थापालाई धेरै खोजी गर्ने गरेको तथ्यांकले देखाउँछ । पश्चिमाञ्चलमा भने दुबै नेतालाई समानरुपले खोज्ने गरेको देखिन्छ ।





























प्रतिक्रिया