फोन र डाटामा मासिक २४१ रुपैयाँ खर्च गर्छन् नेपाली

फोन र डाटामा मासिक २४१ रुपैयाँ खर्च गर्छन् नेपाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

एक नेपालीले मोबाइल तथा टेलिफोनमा औसतमा मासिक २ सय ४१ रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा मोबाइल तथा टेलिफोनमा कुराकानी गर्न र इन्टरनेट चलाउन गरेको कुल खर्च नेपालको कुल जनसंख्याका आधारमा औसत खर्च निकालिएको हो ।

नेपालीको वार्षिक मोबाइल खर्च ८२ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७३/७४ मा ६७ अर्ब ८ करोड रहेको नेपालीको मोबाइल खर्च गत आवमा ७१ अर्ब रुपैयाँ पुगेको थियो । समीक्षा अवधिमा नेपालीहरूले ४७ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ मोबाइलमा कुराकानी गर्न, १८ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ मोबाइल इन्टरनेटमा र ४ अर्ब ७७ करोड २५ लाख रुपैयाँ एसएमएस, एमएमएस, रिङब्याकटोन लगायतका भ्याल्युएडेड सर्भिस (भिएएस) मा खर्च गरेका छन् ।

औसतमा टेलिफोनमा कुराकानी गर्न मात्रै एक नेपालीले मासिक १ सय ७७ रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । नेपाल टेलिकम र एनसेलले दूरसञ्चार प्राधिकरणमा बुझाएको प्रतिवेदन अनुसार गत आवमा मोबाइल तथा टेलिफोन सेवामा कुल ७६ अर्ब ६३ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । नेपालीले टेलिफोन र डाटामा गरेको खर्चमा दूरसञ्चार कम्पनीहरूले अन्तर्राष्ट्रिय कलमार्फत प्राप्त गरेको आम्दानी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरू (आइएसपी) को आम्दानी समावेश गरिएको छैन ।

आर्थिक वर्ष ०७३/७४ को तुलनामा निजी मोबाइल कम्पनी एनसेलले थप २ अर्ब २३ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । तर सरकारी स्वामित्वको नेपाल टेलिकमले भने अघिल्लो वर्षको तुलनामा १ अर्ब ३२ करोड ५५ लाख रुपैयाँ आम्दानी गुमाएको छ । टेलिकमले दूरसञ्चार सेवामार्फत आम्दानी गर्ने २३ शीर्षकमध्ये १६ शीर्षकमा आम्दानी घटेको छ ।
नयाँ पत्रिकाबाट

Logo