काठमाडौं । दिवाकर भट्टराईले निर्देशन गरेको मायावी फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।
आज न्यरोडस्थित रञ्जना सिनेप्लेक्समा औपचारिक कार्यक्रम गरि मायावीको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रमा बोल्दै अभिनेता पल शाहले माया गर्नेहरुका लागि ‘मायावी’ बनेको दावी गरे । उनले मायामा विश्वास गर्ने सम्पूर्ण दर्शकहरुलाई फिल्म रिलिज भएपछि हलमा गएर हेरिदिन अनुरोध पनि गरेका छन् ।
लामो समय फिल्म क्षेत्रबाट ओझेलमा रहेकी नायिका दिपिका प्रसाईले मायावी फिल्ममा अभिनय गर्दा यो फिल्मलाई डेब्यु फिल्मको रुपमा लिएको बताइन् । यो फिल्ममा समिन खानले डेब्यु गरेका छन् । उनले आफु फिल्म क्षेत्रमा नयाँ कलाकार भएपनि काम गर्ने समयमा टिमबाट राम्रो सपोर्ट पाएको बताए ।
त्यसैगरी मायावीका निर्माता दिवाकर भट्टराईले राम्रो फिल्म बनाएर रिलिज गर्ने सोचले १ वर्षपछि फिल्म रिलिज गर्न लागेको र फिल्म राम्रो बनेकाले दर्शकको मन जित्न सफल हुनेमा विश्वस्त रहेको जानकारी दिए । मायावी फिल्म पारिवारिक माहोलमा हेर्न मिल्ने लवस्टोरीमा आधारित रहेको निर्माण टिमले जनाएको छ ।
पल शाह र दिपिका प्रसाईँको मुख्य भूमिका रहेको रोमान्टिक फिल्म ‘मायावी’ को ट्रेलरले फिल्मको कथावस्तु र कलाकारको चरित्र चित्रणबारे प्रकाश पार्छ । ३ मिनेट ८ सेकेन्ड लामो मायावीको ट्रेलर प्रेम र त्यागको कथावस्तुमा आधारित देखिन्छ । ट्रेलर हेर्दा फिल्म पल र दीपिकाको प्रेम वरपर नै घुमेको सहजै अन्दाज गर्न सकिन्छ ।
पछिल्लो समय कमेडी जनराको फिल्म बनिरहदा, लभस्टोरी जनराको फिल्मको अभाव ‘मायाबी’ ले टार्ने अनुमान गरिएको छ ।फिल्ममा पल र दीपिकाको अलवा प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौड्याल, रवि डंगोललगायतको अभिनय छ ।
फिल्मको कथा, पटकथा र निर्देशक दिवाकरले गरेका हुन् । क्रिएटिभ सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको छ ।
प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सहनिर्माताका रूपमा छन् । ‘मायाबी’ फागुन १४ गते प्रदर्शन तयारीमा छ ।































प्रतिक्रिया