कालिकोटको पतालामा आगलागी: ८७ घर जलेर नष्ट, आगो निभाउन न युवा, न पानी

कालिकोटको पतालामा आगलागी: ८७ घर जलेर नष्ट, आगो निभाउन न युवा, न पानी

केन्द्रबिन्दु
0
Shares

कालिकोट । कालिकोटको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। आइतबार रातिदेखि लागेको आगोले ठूलो क्षति पुर्‍याएको छ ।

आगो निभाउने प्रहरी र स्थानीयबासीको प्रयास विफल भएको छ। गाउँमा युवाहरू पनि नभएको र पानीको समेत अभाव भएका कारण आगो निभाउने प्रयास असफल भएको हो।

आगलागीमा ७ स्थानीयवासी घाइते भएका छन् । आगलागीमा जलेर दुई भैंसी, १४ गोरु र दुई बाख्रा मरेका छन्। आगो नियन्त्रणका लागि नेपाली सेनाको टोली पनि घटनास्थल गएको छ । गएराति करिब १० बजेदेखि लागेको आगो सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन्।

गाउँको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट आगो सुरु भएको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए। पलाँताको खाडामा आगलागी भएको खबर प्राप्त भएपछि राति साढे दुई बजेतिर पचाल झरना गाउँपालिकामा रहेको प्रहरी चौकी प्रमुख पुष्प कडायतको नेतृत्वमा १६ जना प्रहरीको टोली घटना स्थलतर्फ पठाएको थियो ।

कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पलाँताको खाडामा आगलागी भएको खबर प्राप्त भएपनि त्यहाँको बारेमा पूर्ण जानकारी लिन नसकिएको बताए।

यस गाउँका सबैजसो घरका छाना खरले छाइएको छ। पलाँताको खाडामा आगलागी नियन्त्रणका लागि खटिने मान्छेहरुको पनि अभाव छ। अधिकांश युवाहरु रोजगारीका लागि कालापहाड गएका छन्। गाउँ युवाबिहीन छ।

Logo