‘एसिया प्यासिफिक सम्मेलनले मुलुकको छवि राम्रो बनायो’

‘एसिया प्यासिफिक सम्मेलनले मुलुकको छवि राम्रो बनायो’

केन्द्रबिन्दु
0
Shares

क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सिल पिस फेडेरेशनले आयोजना गरेको एसिया प्यासिफिक समिटबारे चर्को आलोचना भएपछि नेपाल कम्युनिष्ट पार्टीका बरिष्ट नेता माधवकुमार नेपालले स्पष्टिकरण दिएका छन् ।

काठमाडौँमा जारी नेकपाका स्थायी समिति बैठकमा नेताहरुले सम्मेलनमा प्रधानमन्त्रीको उपस्थिति र माधवकुमार नेपालको अध्यक्षतामाथि टिप्पणी गर्दै बिरोध जनाएपछि नेता नेपालले स्पष्टिकरण दिएका हुन् ।

नेता नेपालले सम्मेलनको उद्धेश्य धर्म प्रचार नभएको र कार्यक्रमबाट नेपाल लाभान्वित भएको बताएका छन् । उनले कार्यक्रमको बारेमा नियोजित प्रचार गरिएको भन्दै भने,  ‘धर्मको नाममा विद्वेष फैलाउन कतिपयले नियोजित प्रचार गरे।’ धार्मिक उद्देश्य भएको कार्यक्रममा आफु कदापी सहभागी नहुने बताउदै उनले  सबै धर्म र संस्कृतिप्रति सम्मान रहेको धारणा राखे।  त्यसकारण सम्मेलन गरेर केही नबिग्रिएको उनले बताए ।

सम्मेलनमा कतिपय मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख सहभागी हुने भएकै कारण प्रधानमन्त्रीले निम्तो पठाइएको जानकारी दिंदै  सम्मेलनका कारण द्वीपक्षीय भेटवार्ता भएको भन्दै त्यसले सम्बन्ध सुमधुर तुल्याउन सहयोग गरेको दाबी गरे। नेता नेपालले सम्मेलनका क्रममा होली वाइन वितरण गर्नु गलत भएको बताउदै त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जानकारी दिए।  नेता नेपालको धारणामा भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराई, अग्नि सापकोटा, बेदुराम भुषाल लगायतले असन्तुष्टि व्यक्त गरे।

लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्पष्टिकरण शैलीमा जवाफ दिए।  प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी स्टेट काउन्सिलर सहभागि हुने भएका कारण सरकारले निम्तो दिएको बताए। सम्मेलनका लागि बिभिन्न देशका सरकार प्रमुखहरू आएकाले मुलुकको छवि राम्रो बनाएको भन्दै प्रधानमन्त्री ओलीले भने,  ‘हामी संविधानमा रहेको धर्मनिरपेक्षताका विषयमा प्रतिवद्ध छौं।’ उनले सम्मेलनको आयोजना कुनै धर्मविरुद्ध नभएको बताए।

गत मंसिर १४-१७ सम्म भएको सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलरको सुशासन अवार्ड दिइएको थियो। सम्मेलनमा सरकारले सह आयोजक बनेको र सरकारी ढुकुटीको दुरुपयोग गरेको भन्दै चौतर्फी बिरोध भएको थियो ।

Skip This
Skip This
Logo