सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति सन्तोषजनक

सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति सन्तोषजनक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ ।

शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्प अन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो ।

समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा गएको टोलीमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल लगायत सांसद अनिलकुमार झा, इन्दुकुमारी शर्मा, गणेशकुमार पहाडी, दामोदर भण्डारी, देवप्रसाद तिमल्सेना सहभागी हुनुहुन्थ्यो । टोलीमा सेनाका आयोजना प्रमुख योगेन्द्रबहादुर खाँड, उपरथी प्रभुराम शर्मा, समितिका सचिव वंशीराज पौडेल, विभिन्न मन्त्रालयका प्रतिनिधि, पत्रकार लगायत २५ जना सामेल थिए ।

काठमाडौँबाट निजगढसम्म हेलिकप्टरमा गएको टोलीले निजगढको जिरो किमीदेखि मोहोरीसम्म गाडीमा स्थलगत भ्रमण गरेको थियो । त्यहाँ सेनाका मेजर राजेशकुमार देवले आयोजनाको कामबारे जानकारी दिनुभएको थियो । सो क्याम्प अन्तर्गत १० किमी क्षेत्रमा कटिङ तथा फिलिङको काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले कटिङ गरेपछि पहिरो जाने समस्याले केही अवरोध सिर्जना भइरहेको बताउनुभयो ।

सो अवसरमा स्थानीयवासी रविराज दङ्गालले द्रुतमार्ग बन्दा स्थानीय जनता खुशी रहेको तर ढिलासुस्ती होला कि भन्ने चासो रहेको बताउनुभयो । उहाँले स्थानीयवासीलाई रोजगारी र स्थानीय साधन स्रोत प्रयोग होस् भन्ने धारणा राख्नुभयो । नेपाली काङ्ग्रेसका महासमिति सदस्य मीना लामाले सेनाले गरेको काम छिटो भएको छ, सेनाले विश्वास आर्जन गरेको छ भन्नुहुँदै सेनालाई नै काम दिएमा द्रुतमार्गको काम छिटो हुने बताउनुभयो ।

सेनाको अर्को क्याम्प मकवानपुरको बकैया गाउँपालिका, राजदमारमा सेनाको निर्माण कार्यदल प्रमुख महासेनानी पुरुषोत्तम कार्कीले सो क्याम्प अन्तर्गत आठ किमीमा पुलबाहेक फिलिङको काम तहतहमा भइरहेको जानकारी दिनुभयो । कल्भर्टको काम पुस १५ सम्ममा सकिने र पुल भने अर्को वर्षदेखि शुरु हुने बताउनुभयो । उहाँले कान्ति राजपथलाई बचाउन डब्लु डाँडामा सुरुङ प्रस्ताव गरिएको पनि बताउनुभयो ।

राजदमारका स्थानीयवासी रामकुमार थिङ र राजन दङ्गालले सो स्थानमा धरान–चतरा हुँदै मदन भण्डारी लोकमार्ग पनि जोडिने भएको र सरकारले इन्टरचेन्जका लागि जग्गा अधिग्रहण गरिसकेकाले इन्टरचेन्ज सोही स्थानमा बन्नुपर्ने बताउनुभयो ।

रामेछापमा जन्मी ३८ वर्षदेखि सो स्थानमा बस्दै आउनु भएका ८० वर्षीय दण्डपाणी दाहालले यो बाटो आफ्नै पालामा बन्ने हो कि होइन भनी आशङ्का व्यक्त गर्नुभएको थियो भने पूर्वप्रधानमन्त्री खनालले अब यो बाटो चाँडै बन्छ, केही वर्षमै तपाईं गाडी चढेर काठमाडौँ पुग्न सक्नुहुन्छ भनेर आश्वस्त बनाउनुभएको थियो ।

नेपाली सेनाका योजना तथा डिजाइन महाशाखाका महासेनानी शरदलाल श्रेष्ठले हाल सेनाले द्रुतमार्गको एशियाली विकास बैंकको प्रतिवेदन, सरकारले अधिग्रहण गरेको जग्गा र एशियाली मापदण्डलाई आधार बनाएर कार्य गरिरहेको र विस्तृत परियोजना प्रतिवेदन आएपछि द्रुतमार्गको कामले गति लिने बताउनुभयो ।

निरीक्षण भ्रमणको अन्त्यमा मख्खुबेँसीमा समिति सभापति खड्काले स्थलगत भ्रमणबाट द्रुतमार्ग निर्माणबारे राम्रो जानकारी भएको र सेनाले उत्साहका साथ काम गरेको पाइएको र आफू कामबाट प्रभावित भएको बताउनुभयो । सेनालाई कामका लागि धन्यवाद दिनुहुँदै यसै क्रमले काम भएमा सेनाले गत वर्ष वैशाखमा जिम्मेवारी पाएकामा चार वर्षमा द्रुतमार्गको काम पूरा हुनसक्ने उहाँले अपेक्षा गर्नुभयो ।
रासस

Logo