पुस्तक समीक्षा : छाप्रो नं. ५५

पुस्तक समीक्षा : छाप्रो नं. ५५

केन्द्रबिन्दु
0
Shares

रमेश दियाली , साहित्यमा यो विल्कुलै नयाँ नाम हो । नयाँ भनेपछि हामीलाई पर्न सक्छ सिकारु लेखक होलान् । तर छाप्रो नं ५५ पढेपछि हाम्रो यो भ्रम तोडिनेछ । किनकी यो उनको पहिलो प्रयासमै निखारिएको र तिखारिएको गहकिलो उपन्यास बनेको छ ।

छाप्रो नं. ५५ भुटानी शरणार्थी शिविरमा रहेकाहरुको यथार्थ कथा हो । त्यहाँ रहेका हजारौंले भोगेको दुःख र समस्याको प्रतिनिधी हो । कथा प्रेममा आधारित छ । यसबाटै लेखकले त्यहाँको सामाजिक , आर्थिक , गरिबी तथा अन्य वर्गले शरणार्थीहरुलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने कुराको निकै मार्मिक तरिकाले चित्रण गरेका छन् ।

उपन्यासका पात्र गंगा र देव वीचको सामान्य परिचयले जरा गाडेको देखाइएको छ । पछि गरिबीलाई चुनौती दिनका लागी देव बाग्लुङ्ग गएपछि धेरै समय ऊ सम्पर्कविहिन भएको छ । यता गंगाका बृद्ध बाबुले उसको विवाह गरिदिन निकै जोड गरेपछि गंगा साँच्चै नै बाध्यतामा परेकी छे । अन्ततः गंगाले बाबुले भनेकै केटासँग विवाह गरेपछि उपन्यासले अर्कै मोड लिएको छ ।

यतिबेला सम्म अब के होला त, भन्ने जिज्ञासा पाठकलाई पर्न थालिसकेको हुन्छ । गंगा विस्तारै देवलाई विर्सने प्रयासमा हुन्छे र आफ्नो नयाँ घरलाई कसरी राम्रो बनाउने भन्ने तिर लागिरहँदा सासुससुराको हेपाई र कचकचले दिक्क हुन्छे । यता उसको लोग्ने पनि गरिबीकै कारण परदेश तिर लाग्छ । जतिबेला गंगा निकै चिन्तित् हुन्छे । पछि लोग्ने परदेशबाट त फर्कन्छ तर धन सम्पतिको सट्टा ब्लड क्यान्सर लिएर आउँछ । उता गंगाको बाबुको पनि मृत्यु भइसकेको हुन्छ, यता लोग्नेलाई अस्पताल लैजान पैसा हुदैन र ऊ सडकमा भिख माग्न बसेकी हुन्छे ।

त्यतिबेला उसको बाल्यकालकी साथीले उसलाई सहयोग गर्छिन् । लोग्नेको उपचारका लागि जसो तसो केहि खर्चको व्यवस्था गरेर सिलगुडी लैजान्छे गंगाले तर उपचार हुन नसकेपछि लोग्नेको मृत्यु हुन्छ । शव उतै संस्कार गरेर नेपाल फर्केकी गंगाले शिविरमा आप्रवासका लागि निवेदन खुलेपछि आफ्नो नाम पनि लेखाउँछे र प्रकृया मिलाएर सुन्दर भविष्यको सपना बोकेर अमेरिका जान्छे । त्यतिबेला सम्म उसले धेरै दुःख पाएकी छे , अन्ततः उसको बाल्यकालको साथी देव अमेरिकामै भेटिएपछि कथा संयोगान्त अवस्थामा टुंगिएको छ ।

उनीहरुले पछि विवाह पनि गर्छन् । रुढीवादी समाजलाई चुनौती दिन्छन् र कथाले विश्राम पाएको छ । यति सम्म आइपुग्दा केहि केहि कुरामा भने पाठकलाई भ्रम पर्न सक्छ , जस्तो रोजगारीको लागी बाग्लुङ्ग गएको देव कसरी अमेरिका पुग्यो ? उसले त्यति लामो समय सम्म किन गंगालाई केहि खबर पठाएन ? लगायतका केहि घटनाक्रमलाई लेखकको सामान्य लेखकिय कमजोरीको रुपमा लिने हो भने उपन्यास सरल र राम्रो बनेको छ । कतै कतै भाषाशैलीमा व्याकरणिक कमजोरी पनि छ । यी लगायत विषयलाई लेखकले सुर्धान जरुरी छ । मञ्जरी पब्लिकेशनले प्रकाशनमा ल्याएको छाप्रो नं. ५५ लाई बजारमा ३१५ रुपैयाँमा किन्न सकिन्छ ।

Skip This
Skip This
Logo