काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन माथिको छलफलक्रममा सदस्यहरुले सरकार र पार्टीमा ‘एक व्यक्ति एक पद’ नीति कार्यान्वयन तथा सरकार पुनर्गठन गर्न नेतृत्वसँग माग गरेका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार भएको छलफलमा सहभागी अधिकांश सदस्यले यस्तो माग गरेका हुन् ।
एउटै व्यक्तिलाई सरकार र पार्टी दुवैमा जिम्मेवारी दिँदा सरकार र पार्टी दुवैतिरको काम प्रभावकारी बन्न नसकेकाले ‘एक व्यक्ति एक पद’ को नीति कार्यान्वयनमा ल्याउनुपर्ने तर्क उनीहरूको छ । सरकारमा बसेर प्रभावकारी काम गर्न नसकेका मन्त्रीलाई पनि हटाएर मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने धारणा पनि नेतारूले राखेका छन् ।
बैठकमा नेता वामदेव गौतमले राखेको फरक दस्तावेजमा ‘एक व्यक्ति एक पद’ को नीति कार्यान्वयन गरी सरकार र पार्टी दुवैलाई गतिशील बनाउनुपर्ने प्रस्ताव गरिएको छ । बैठकमा बोल्ने अधिकांश सदस्यले गौतमले उठाएको विषयलाई समर्थन गरेका छन् । गौतमको यो प्रस्तावमा समर्थन बढ्दै गएपछि प्रदेश ५ का मुख्यमन्त्री एवं पार्टी इन्चार्ज शंकर पोखरेलले मंगलबारको बैठकमा आफू मुख्यमन्त्री छाड्न तयार रहेको तर पार्टी जिम्मेवारीबाट पछि नहट्ने बताएका थिए । पोखरेलको सो अभिव्यक्तिलाई नेता सुरेन्द्र पाण्डेले ‘साइकोलोजिकल ब्लाकमेलिङ’ को संज्ञा दिएका छन् ।
स्थायी कमिटीको बुधबारको बैठकमा पोखरेलको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै नेता पाण्डेले पदलाई कुनै सन्र्दभमा लगेर बार्गेनिङ गर्ने चिज वा विषयवस्तु बनाउन नहुने बताए । पोखरेलले आफूलाई पार्टी अध्यक्षद्वयले मुख्यमन्त्रीको जिम्मेवारी पनि दिएको दाबी गरेका थिए । पोखरेल जस्तै प्रदेश ४ का पार्टी इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई सोही प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पनि दिइएको छ । दोहोरो जिम्मेवारी दिइएको विषयमा पार्टीभित्रैबाट व्यापक असन्तुष्टि पोखिँदै आएको छ ।
नागरिकबाट





























प्रतिक्रिया