निर्मला काण्डः आन्दोलनकर्मीको कांग्रेस नेताहरुसँग यस्तो कनेक्सन

निर्मला काण्डः आन्दोलनकर्मीको कांग्रेस नेताहरुसँग यस्तो कनेक्सन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् । शव फेला परेलगत्तै स्थानीयले आन्दोलन सुरु गरेका थिए । आन्दोलन अझै जारी छ । न्यायको लागि आन्दोलन गर्नु एउटा पाटो होला तर त्यसको नाममा विभिन्न चलखेल भएको पनि देखिन्छ ।

आन्दोलनमा महिला अधिकारकर्मी सारदा चन्दको भूमिका शंकास्पद देखिएको छ । आन्दोलनका क्रममा उनको विभिन्न राजनीतिक दलका नेताहरुसँगको सम्बन्धले पनि शंका पैदा गरेको हो ।

आन्दोलनकारीहरुले सुरुमा भीमदत्त नगरपालिका मेयर घटनास्थलमा आउनुपर्ने, तत्काल दोषी पत्ता लगाएर कडाभन्दा कडा कारवाही गरिनुपर्ने लगायतका माग राखेका थिए । आन्दोलनकारीहरुले निर्मलाको शवलाई भीमदत्त नगरपालिकाको गेट अगाडि लगेर प्रदर्शन गरेका थिए ।

पोष्टमार्टमको लागि महाकाली अञ्चल अस्पताल लैजानुपर्ने शवलाई नगरपालिका अगाडि लगिएपछि आन्दोलन उग्रं बनेको थियो । आन्दोलनकै क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा १ जनाको मृत्यु दर्जन बढी घाइते समेत भए ।

प्रहरीले निर्मलाको बलात्कारपछि हत्या घटनामा संलग्न रहेको भन्दै भीनपा–१९ का ४१ वर्षीय दीलिप विष्टलाई पक्राउ गरेको थियो । दीलिप निर्दोष रहेको भन्दै महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो । पछि डिएनए परीक्षणको क्रममा उनी निर्दोष सावित भए ।

कञ्चनपुरमा बृद्धाश्रम सञ्चालन गर्दै आएकी सारदा निर्मलाको न्यायका लागि भएको आन्दोलनको अगुवाई गरिरहेकी थिईन् । तर उनी कसैको दबाबमा आन्दोलनमा सहभागी भएको खुलाशा भएको हो ।

निर्मलाको न्यायका लागि थालिएको आन्दोलनमा राजनीतिकरण गर्न खोजिएको आरोप लाग्दै आएको थियो । विशेषगरी सत्तारुढ दल नेकपा नेता तथा कार्यकर्ताहरुले यसलाई राजनीति गर्न खोज्ने तत्वहरु सक्रिय भईरहेको आरोप लगाउँदैं आएका थिए ।

त्यसको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिवाद गर्दै आएको थियो । तर पछिल्ला केही प्रमाणले घटनालाई राजनीतिकरण गर्न खोजिएको प्रष्ट हुन्छ ।

अधिकारकर्मी सारदा चन्दको शंकास्पद भूमिकाः
आन्दोलनको अगुवाई गरिरहेकी महिला अधिकारकर्मी सारदा चन्दको भूमिका शंकास्पद देखिएको छ । उनी आन्दोलनकारीको भूमिकामा पनि सक्रिय छिन् भने प्रहरीसँग पनि निरन्तर सम्पर्कमा रहेको देखिन्छ ।

आन्दोलनको क्रममा उनले विभिन्न व्यक्तिलाई गरेको एसएमएसबाट पनि उनको भूमिका शंकास्पद देखिएको हो । जुन सार्वजनिक भएका एसएमएसहरु छन् ति सबै राति भएका छन् । दिनभर आन्दोलन गर्ने अनि राति परेपछि सबैलाई एसएमएस तथा फोन गर्ने गरेको पाईएको हो ।

उनीमाथि नेपाली कांग्रेसका नेता रमेश लेखकको निर्देशनमा आन्दोलन गरेको आरोप छ । जुन आरोप तत्कालिन एसपी दिल्लीराज विष्टले पनि घुमाउरो भाषामा स्वीकार गरेका छन् ।

सारदाले एसपी विष्टलाई ‘रमेश लेखकको निर्देशनमा आन्दोलन गरिरहेकी हुँ । तपाईले चिन्ता गर्नुपर्दैन’ भन्दै फोन सम्पर्क गरेकी थिईन् । जुन भनाईप्रति सारदाले खण्डन गरेकी छन् ।

आफुले कसैसँग पनि त्यस्तो नभनेकी जिकिर गरेकी हुन् । तर जसलाई फोन गरिएको थियो त्यो व्यक्तिले भने स्वीकार गरेका छन् । एसपी विष्टले घुमाउरो भाषामा फोन गरेर भनेको स्वीकार गरेका हुन् ।

‘म अहिले धेरै बोल्दैन । सार्वजनिक भएको एसएमएसबाट पनि तपाई अनुमान लगाउन सक्नुहुन्छ । आन्दोलनमा राजनीतिकरण भएको थियो वा थिएन् । समय आएपछि सम्बन्धित निकायलाई सबै कुरा भनौला । अहिले जे कुरा सार्वजनिक भएको छ । सत्य हो यति बुझ्नुहोस्’ एसपी विष्टले भने ।

सारदाले आफुसँग रमेश लेखकको बारेमा जानकारी गराएको बताउँदैं एसपी विष्टले भने, ‘सारदा जी ले म सँग फोनमा कुरा गर्दा जुन आरोप लागेको छ । त्यो भन्नुभएको थियो । रमेश लेखकको दबाबमा आन्दोलन गर्न बाध्य छु भन्नुभएको थियो ।’

आन्दोलनका क्रममा धेरै व्यक्तिलाई रमेश लेखको नम्बर एसएमएसः
निर्मला आन्दोलनका क्रममा एउटै समयमा सारदा चन्दले मीना भन्डारी, भारती चौधरी लगायतका ५ महिलालाई रमेश लेखकको नम्बर पठाएको देखिएको छ । सारदाले रमेश लेखकको नम्बर भन्दै ति ५ महिलाहरुलाई नम्बर एसएमएस गरेकी थिईन् । त्यस्तै सारदाले नेपाली कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीसँग पनि म्यासेज गरेकी थिईन् ।

उनले केसीसँग म्यासेज गर्दै भनेकी थिईन्, ‘दाजु जय नेपाल, मैले म्यासेन्जरमा पठाईदिएकी छु आजसम्मको आन्दोदन । निर्मलाको हत्यापछि । फेसबुकमा रिक्वोईस्ट पठाउन मिलेन पेज भेटिएन ।’

त्यस्तै उनले एसपी दिल्लीराज विष्टलाई पनि पटक पटक एसएमएस गरेको देखिन्छ । उनले एसपी विष्टलाई ‘अहिले जिप्रकामा अधिकारकर्मी लिएकी छु । हजुरसँग कुरा नि गर्नुपर्नेछ । कति खेर समय मिल्छ । बाहिर प्रहरी र जनताबीचमा केही व्यक्तिहरुले भ्रम सिर्जना गरिरहेका छन्’ भन्दै एसएमएस गरेको देखिन्छ ।

यस विषयबाट पनि कसले आन्दोलनको नाममा राजनीति गर्न खोजिए नखोजिएको प्रष्ट हुने एसपी विष्टको भनाई थियो ।  सारदाले नेपाली कांग्रेसका नेता अर्जुननरसिहं केसीलाई पनि आन्दोलनबारे बेला बेला ब्रिफिङ गरेको देखिन्छ । एउटा निस्वार्थ गरिएको आन्दोलनबारे कुनै पार्टीका नेतालाई ब्रिफिङ गर्नुलाई पनि केही स्वार्थ थियो कि भन्ने प्रश्न उठ्नु स्भाविक हो ।

चरित्र हत्या गरियो, कानूनी न्याय खोज्छुः सारदा चन्द
निर्मलाको न्यायका लागि आवाज उठाउँदा आफ्नो चरित्र हत्या गर्न खोजिएको महिला अधिकारकर्मी चन्दको भनाई छ । आन्दोलनका क्रममा के मैले कसैलाई पनि फोन तथा एसएमएस गर्न नपाउने भन्दै आफ्नो चरित्र हत्या गर्न खोज्नेविरुद्ध कानूनी लडाई सुरु गरेको उनको भनाई छ ।

पत्रकार राजेन्द्र विष्टले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै चन्दले उनीविरुद्ध जिप्रकामा उजुरी दिएकी छन् । हाल काठमाडौंमा रहेका पत्रकार विष्टलाई जिल्ला झिकाएर कारवाहीको माग गर्दै उनले प्रहरीमा उजुरी दिएकी हुन् । उनले साईबर क्राईम अन्र्तगत कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

आन्दोलन चर्काउन १५ लाख आर्थिक सहयोगको आरोपः
निर्मलाको न्यायका लागि थालिएको आन्दोलनमा स्वार्थी समूहको घुसपैठ भएको आरोप बेला–बेला लाग्दै आएको थियो । उक्त आन्दोलनलाई सघाउन भन्दै एक व्यक्तिबाट १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान भएको स्रोतको भनाई छ ।

अपराध विश्लेषकका रुपमा चिनिएका सुनिल शर्मामाथि आन्दोलनलाई १५ लाख रुपैयाँ सहयोग गरेको आरोप लागेको हो । उनले एक पत्रकार तथा केही अधिकारकर्मीलाई महेन्द्रनगरको कलस होटलमा लगेर गोप्य छलफल गरेका थिए । उक्त छलफलको क्रममा आन्दोलन चर्काउने र पैसा दिने विषय उठेको स्रोतको दाबी छ ।

आर्थिक सहयोग गरेको भन्ने आरोप निराधारः
अपराध विश्लेषक सुनिल शर्माले भने आफुमाथि लागेको आरोप निराधार रहेको बताएका छन् । आफुले आन्दोलनको क्रममा सहयोग गरेको तर आर्थिक सहयोग गरिएको भन्ने आरोप निराधार रहेको बताएका हुन् ।

उनले भने, ‘म एउटा विशेष टोलीबाट कञ्चनपुर पुगेको थिएँ । सोही क्रममा मैले आन्दोलनकारी, पीडित पक्ष, प्रहरी प्रशासन तथा सरोकारवालासँग छलफल गरेको थिए । तर आन्दोलन चर्काउन १५ लाख रुपैयाँ दियो भन्ने हावा हो । म जस्तोले कहाँबाट दिने १५ लाख रुपैयाँ । त्यो पनि आन्दोलन चर्काउन । आफै अनुसन्धान गर्न गएको बेला कसरी त्यस्तो कार्य गर्न सक्छु र ?’

शर्माले केही व्यक्तिसँगको टेलिफोन सम्पर्कमा पैसा दिएको कुरा स्वीकार गरेपनि हामीसँगको कुराकानीमा आरोप निराधार रहेको बताएका थिए ।

(नोटः हामीले उक्त आरोपबारे पुष्टि गर्न सारदा चन्द, एसपी दिल्लीराज बिष्ट र सुनिल शर्मासँग कुराकानी गरेका थियौं । उक्त कुराकानी भिडियोमा उल्लेख छ । एसएमएसहरु पत्रकार राजेन्द्र विष्टबाट लिईएको ।)-सम्पादक

Skip This
Skip This
Logo