डोटी
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयवासीलाई समस्या उत्पन्न भएको छ ।
भारतीय रुपैयाँ २००, ५०० र दुई हजारका नोट नचलाउने सरकारको निर्णयपछि सुदूरपश्चिम प्रदेशका स्थानीयवासी समस्यामा परेका हुन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीले घर फर्किदा ल्याएका भारतीय नोट अहिले नसाटिन थालेपछि उनीहरु निकै समस्यामा परेको डोटीका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो ।
‘रोजगारी गरी भारतबाट फर्किदा उनीहरुले भारतीय नोट ल्याएका छन्, सरकारले भारतीय नोट नसाट्ने भनेपछि समस्या भएको छ, उहाँले भन्नुभयो, “हामीले कमाएर ल्याएको सम्पति कहाँ गएर साट्ने ।”
दिपायल पिपल्लास्थित किरण इलेक्ट्रोनिकका सञ्चालक किरण भण्डारीले आफू कहाँ दैनिक दजर्नौं ग्राहकहरु भारतीय रुपैयाँ लिएर आउने गरेको बताउनुभयो ।
“कुनै पनि सामान किन्दा ग्राहकले भारतीय रुपैयाँ दिन्छन्, सरकारले चल्दैन भनेको छ, त्यसकारण त्यस्ता ग्राहकलाई दैनिक फर्काउनु परेको छ ”, उहाँले भन्नुभयो, “ केही चिने जानेका व्यक्तिले भारतीय रुपैयाँ साटिए नेपाली नोट दिनुहोला भनेर रकम छोडेर गएका छन्, कहाँ गएर साट्नु आफैं अलमलमा परेको छु ।
सुदूरपश्चिमका अधिकांश स्थानीयवासी कामका लागि भारत जाने र उनीहरुले त्यहाँ कमाएको रकम भारतीय रुपैयाँ नै ल्याउने गरेका कारण यो प्रदेशमा बढी जसो भारतीय रुपैयाँको नै कारोवार हुने गरेको दिपायलका पूर्वनगर प्रमुख घनश्याम पाठकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो प्रदेशका अधिकांश जिल्लाहरुमा प्राय भारतीय रुपैयाँको कारोवार हुन्छ, सरकारले भारतीय रुपैयाँ नचल्ने भनेपछि समस्या त हुने नै भयो नि ।’ सुदूरपश्चिम प्रदेशका बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, कैलाली, कञ्चनपुर तथा डोटीका स्थानीयवासीहरु प्राय कामका लागि भारत जाने गर्दछन् ।
यहाँका कतिपय जिल्लामा त नेपाली नोट भन्दा पनि भारतीय नोटको बढी कारोवार हुँदै आएको स्थानीयवासीहरु बताउँछन् । बजारमा भारतीय रुपैयाँ नचल्न थालेपछि यहाँको व्यापार व्यवसायमा पनि निकै कमी आएको दिपायल पिपल्लाका स्थानीय व्यापारी तुलसी शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अधिकांश ग्राहक भारतीय रुपैयाँ लिएर सामान किन्न आउँछन्, सरकारले नचल्ने भनेपछि हामीले ती रुपैयाँमा सामान बिक्री गर्दैनौ, त्यसैले व्यापारमा अहिले व्यापक कमि आएको छ ।” सरकारले निर्णय सच्याएर केहि समय दिनु पर्ने वा विकल्पमा केहि व्यवस्था गर्नु पर्ने उहाँको माग छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कानूनी रुपमा नसाट्ने भनिएको भारतीय रकम कहीं कतै साट्न नहुने बताउनुभयो । “कानूनले नसाट्नु भनेको रकम साट्नु वा चलन चल्ती गर्नु भनेको गैरकानूनी हो ”, उहाँले भन्नुभयो, “गैरकानूनी रुपमा नेपालमा रकम साट्नु भन्दा बरु भारत तिरै लगेर साट्न उपयुक्त होला ।”
रासस





























प्रतिक्रिया