(बिराट चन्द)
‘दशा’ ढोल बजाएर आउँदैंन भन्ने उखान त सुनेको थिए । तर हाम्रो लागि त ढोल बजाएरै आएजस्तो देखियो । हामी महेन्द्रनगरबाट साढे ४ बजे काठमाडौंको लागि हिडेका थियौं । हामी चढेको बस पुरै भरिएको थियो । झण्डै आधा घण्टा गुडेपछि बसको पछाडितिरका दुवै टायर पड्किए ।
ड्राईभरले अर्को गाडी मगाउने कुरा गर्दै थिए । पछि बसमा अर्को टायर रहेछ । त्यो चेन्ज गरेर अगाडि बढियो । साढे ४ बजे महेन्द्रनगर बसपार्कबाट हिडेको बस अत्तरिया पुग्दा ७ बजिसकेको थियो ।

जबकी अत्तरिया पुग्न एक घण्टा मात्र लाग्छ । तर त्यो गाडीले ७ बजायो । अत्तरिया पुग्दा फेरि अर्कोतिरको टायर फुट्यो । बाटोमा जाँदा पनि बेला–बेला विभिन्न उल्झनहरु आईरहेका थिए ।
बिहीबार बिहानको करिब २ बजिसकेको थियो । बाटो उकालो ओलारो जस्तो थियो । एक्कासि बसमा ब्रेक लाग्यो । हामी सबै यात्रु अगाडि हुत्तियौं । निद्रामा रहेका सबै यात्रहरु एकाएक उठे । हामीले फेरि पनि टायर पड्किएको भन्ने सोच्यौं ।
ब्युझिएर हेर्दा त ड्राईभर, खलाडी र कन्डक्टर सबै भागिसकेका रहेछन् । हामी अचम्ममा पर्यौं । म झ्यालतिरको सिटमा थिए । झ्यालको सिसा खोलेर बाहिर हेर्दा तर पुरै भिर देखियो । मलाई डर लाग्यो । झ्यालका सिसा फोडेर बाहिर निस्किए ।

अगाडि बढेर हेर्दा त विपरित दिशाबाट आएको स्कारपियो ठोक्किएको रहेछ । सबै यात्रु आत्तियौं । सबैजना बाहिर आएर उद्धारमा लाग्यौं । एक जनाले प्रहरीलाई सम्पर्क गरे ।
प्रहरी करिब आधा घण्टापछि घटनास्थलमा पुग्यो । त्यो पनि २ जनामात्र । उद्धार गर्दा स्कारपियोको ड्राईभर अलि–अलि बोलिरहेका थिए । उनले हामी विवाहबाट आएको भने । त्यसपछि हामी झन आत्तियौं ।
उनले नै विवाहबारे जानकारी दिए । अगाडिको सिटमा एक महिला र उनको काखमा बच्चा थियो । मैले त्यो बच्चालाई हेर्नै सकिन् । ति महिलाको पनि अलिकति स्वास थियो ।
ति बच्चालाई हेर्दा मेरो मन, मस्तिष्कले काम गर्न छाड्यो । अहिले पनि म झलझल्ति ति बच्चाको अनुहार देख्छु । निकै भावविह्ल हुन्छु । हामीले हेर्दा केहीको घटनास्थलमै ज्यान गईसकेको थियो । बाँकी घाईतेहरुलाई बसमा चढाएर अस्पताल पुर्यायौं । केही समयमा आएका एकमात्र एम्बुलेन्समा २ जनामात्र विरामी लगियो ।
स्कारपियोको ड्राईभर निदाउँदाः

हामी आफ्नै साईडबाट गईरहेका थियौं । हाम्रो गाडि करिब सय भन्दा बढीको स्पिडमा थियो । उताबाट पनि स्कारपियो धेरै नै स्पिडमा । त्यो पनि गलत साईडतिर । यदि त्यहा नेर कारलाई बचाउने प्रयास गरेको भए हामी चढेको बस भिरमा खस्ने थियो ।
हाम्रो ड्राईभरले बचाउने धेरै प्रयास गरेको थियो । तर उताबाट स्पिडमा आएको स्कारपियो आफैं ठोक्किन पुग्यो । जुन एकदमै दुखद् घटना हुन पुग्यो । त्यो ठाउँमा हामी नभएको भए सायद स्कारपियो सवार सबै जनाको ज्यान सक्थ्यो ।
बिहीबार बिहान दाङको लमही नगरपालिका–९ को रिहार नजिक चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै स्कारपियो दुर्घटनामा पर्दा दुलाहका बाबु आमासहित ६ जनाको ज्यान गएको थियो ।

बा१२च ३१२२ नम्बरको स्कारपियो विपरित दिशाबाट आईरहेको यात्रुबाहक बससँग ठोक्किदा बाँकेको राप्ती सोनारी गाउँपालिका–९, समशेरगञ्जका २७ वर्षीया बेहुला यज्ञबहादुर केसीका बाबु ५३ वर्षीय मनबहादुर केसी, आमा ४२ वर्षीया विमला केसी लगायत ६ जनाको ज्यान गएको थियो । उनीहरु चढेको स्कारपियो महेन्द्रनगरबाट काठमाडौं तर्फ आईरहेको ना ५ ख ४०९० नम्बरको बससँग ठोक्किएको थियो ।
(विराट चन्द उक्त दुर्घटनाका प्रत्यक्षदर्शी हुन् । उनी महेन्द्रनगरबाट काठमाडौं आईरहेको बसमा सवार थिए । उनीसँग गरिएको कुराकानीमा आधारित ।)































प्रतिक्रिया