काठमाडौं । संघीय संसदका कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् । गत साउनदेखि भत्ता नपाएको भन्दै उनीहरुले पुस १ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
चालु आर्थिक वर्षको बजेटमार्फत अतिरिक्त भत्ता कटौती गरिएपछि उनीहरुले भत्ता पाउनुपर्ने माग गर्दै पुस १ देखि असहयोग आन्दोलन गर्ने भएका हुन् ।
पुस १ देखि कार्यालय समयबाहेक अन्य समयमा काम नगर्ने संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले जानकारी दिए । अतिरिक्त भत्ता नदिएको १०४ मा ड्युटी गर्ने उनीहरुको चेतावनी छ । त्यो बाहेकको जिम्मेवारी आफुहरुले नगर्ने अध्यक्ष अर्यालको भनाई छ ।
गत वर्षसम्म संसद कर्मचारीले तलब र अतिरिक्त भत्ता पाउदै आएका थिए । चालु आर्थिक वर्षमा कटौती भएपछि उनीहरु असन्तुष्ट भएका हुन् ।
संसद र संसदीय समितिहरुको बैठक विहान र बेलुका अबेसम्म पनि बस्ने हुनाले उक्त समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनुपर्ने कर्मचारीको माग छ ।
उनीहरुले माग सम्बोधन नभए मसिर २८ गते मनाइने संसद सेवा दिवस पनि वहिस्कार गर्ने चेतावनी दिएका छन् । संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीहरुले लामो समयदेखि ८० प्रतिशत अतिरिक्त भत्ता पाउँदै आएका थिए । तर आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमार्फत कर्मचारीलाई दिइएको सबै खालका अतिरिक्त भत्ता कटौती भएको थियो ।





























प्रतिक्रिया