काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग र व्यावसायिक गतिविधि बढाउने वातावरणको तय गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ मा सम्बोधन गर्दै ढकालले उद्योग र व्यवसाय बढाउन सकेमात्र रोजगारीमा वृद्धि हुने बताएका हुन् ।
‘रोजगार दिने बेसिक चिज के हुन्, त्यो पहिचान गर्नुपर्छ, सोही अनुसार सरकारले सहुलियत र प्रवर्द्धनका नीति लिएर अगाडि बढेको खण्डमा ठूलो संख्यामा स्वदेशमै रोजगारी सिर्जना हुन सक्छ,’ उनले भने । ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुने बताउँदै रोजगारी सिर्जनमा यस क्षेत्रको योगदान ८५ प्रतिशत रहेको पनि बताए ।
व्यवसायीले उद्योग खोल्दा समग्र अर्थतन्त्रमा समेत योगदान पुग्ने जानकारी दिए । ‘उद्योग खोल्यो भने व्यवसायीले मात्र नाफा कमाउँछ भन्ने दृष्टिकोणले यहाँ हेरिन्छ, तर उद्योग खोल्दा देशको अर्थतन्त्रदेखि स्थानीय नागरिकसम्मले त्यहाँ स्थान पाउँछन् भनेर बुझ्न जरुरी छ,’ उनले भने ।
सरकारलाई लगानीमैत्री वातावरण सिर्जनामा निजी क्षेत्रले धेरै सुझाव दिएकाे पनि उनले बताए । उक्त सुझावका केही विषय कार्यान्वयन हुँदा निजी क्षेत्र हर्षित रहेको ढकालले जानकारी दिए । लाखौं संख्यामा जनशक्ति विदेशी राख्दा यहाँ नयाँ अवशहरूको सिर्जना गर्नको लागि सोही अनुसारको कदम सरकारले चाल्नु पर्ने उनको ठहर छ ।
आन्तरिक दक्ष जनशक्ति उत्पादनमा लगानी बढाई सोही अनुरूपका सहजीकरणको व्यवस्था मिलाउँदा अन्य उद्यमीहरूको पनि कल्पना गर्न सकिने ढकालको भनाई छ । उनले आर्थिक विकासको कमन एजेन्डा भए मात्र आर्थिक रूपान्तरण नयाँ आयाम सोच्न सकिने बताए ।































प्रतिक्रिया