काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ सुरु भएको छ । आन्तरिक रोजगारी सिर्जनाको लागि नीति र कानुनमा सुधार गर्ने उद्देश्य राखी होटल याक एण्ड यतिमा उक्त सम्मेलन सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचौं संस्करणको उक्त सम्मेलनको उद्घाटन गरेका छन् । उद्घाटनसँगै ओलीले आन्तरिक रोजगारी प्रवर्द्धन दशकको पनि शुभारम्भ गरेका हुन्। शुभारम्भ क्रममा जसको परिपालना गर्नको लागि निजी क्षेत्रका १० वटा संघ संस्थासँग सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यसले दक्ष श्रम तयारमा योगदान दिने विश्वास लिइएको छ । उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले आन्तरिक रोजगारी प्रवर्द्धनले नेपालको अवस्था र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए । ‘हरेक मान्छेले जागिर खोजेर पाइँदैन, जागिर खान्छु हैन, आफै सिर्जना गर्छु भनेर लाग्नु पर्याे,’ उनले भने ।
रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्त्वपूर्ण योग्दान रहेको बताउँदै ओलीले सरकार भन्दा रोजगारी सिर्जनामा निजी क्षेत्र बढी सक्रिय रहेको बताए । नागरिकलाई ऋणात्मक हुनेबाट जोगाउनु पर्ने पनि ओलीले बताए ।
‘मान्छे ऋण माथि ऋण पर्दै गइरहेको छ, सधैं ऋणात्मक भएर मान्छे बाच्न सक्दैन, त्यसैले श्रमको मूल्य पनि हुनु पर्याे र उद्यमशीलतामा फोकस भएर काम गर्न सक्यो भने रोजगारी पनि अवश्य वृद्धि हुन्छ,’ उनले भने । भोलिसम्म (फागुन २६ गतेसम्म) आयोजना हुने यो सम्मेलनबाट सामाजिक उन्नतिका लागि सृजनशील ढंगले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूको संरक्षण र प्रवर्द्धन गर्न सघाउ पुर्याउने विश्वास लिइएको छ ।
यस्तै, वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पूँजीको यथोचित प्रयोग, उत्पादनशील र मर्यादित श्रमको विकास, श्रम बजारमा सीपयुक्त जनशक्तिको माग र आपूर्तिमा सन्तुलन, मर्यादित वैदेशिक रोजगारीको विकास लगायतको विषयमा सम्मेलनमा छलफल हुनेछ । आजको सम्मेलनबाट प्राप्त सुझावलाई आन्तरिक रोजगार प्रवर्द्धन दश वर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयले जनाएको छ ।
रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता/विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी यो सम्मेलनमा ५०० जनाको सहभागिता हुने अपेक्षा लिइएको छ ।





























प्रतिक्रिया