भक्तपुरमा वडाध्यक्षद्वारा कर्मचारी माथी नै हातपात : विरोधमा कर्मचारीले काम ठप्प पारे

भक्तपुरमा वडाध्यक्षद्वारा कर्मचारी माथी नै हातपात : विरोधमा कर्मचारीले काम ठप्प पारे

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ का वडाध्यक्ष जयन्द्र खडकाले विहिबार नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पूण्यप्रसाद लुइँटेल माथि हातपात गरेका छन् ।

वडाध्यक्ष खड्काले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले प्रक्रिया र नियम नपु¥याइ जनप्रतिनिधि नै भए पनि स्वीकृत दिन नमिल्ने बताएपछि आक्रोसित हुँदै हातपात गरेको नगरपालिकाका कर्मचारीले बताएका छन् ।

यसबारेमा प्रशासकीय अधिकृत लुइँटेलले वडाध्यक्ष जयन्द्रले इँटा भट्टालाई माटो दिन स्वीकृत माग गर्दै आएको र आफूले नगर कार्यपालिकाको निर्णय विनासिफारिश गर्न नमिल्ने जानकारी गराएपछि उनले आफूमाथि अभद्र व्यवहार गरेको स्वीकार गरे ।

त्यसपछि आफू कार्यालयबाट निस्केर मन्त्रालय गएको उनले जानकारी दिए । नगरपालिकाका कर्मचारीका अनुसार वडाध्यक्ष खड्काले माटोको स्वीकृत नपाएपछि प्रशासकीय अधिकृत लुइँटेलको टेबुल ठटाएर अभद्र व्यवहार गर्नुका साथै पानीको बोतल प्रहार गरेको र पानीको बोतल लुइँटेललाई नलागे पनि पानीको छिट्टा भने परेको थियो ।

घटनापछि यता नगरपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति प्रकाशित गरी वडाध्यक्षले सबै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन् । कर्मचारीहरुको हस्ताक्षरित विज्ञप्तिमा नीति, कानून, नियम र कार्यविधिविपरीत काम गर्न जनप्रतिनिधिले नै दिएको दबाबका कारण घटना घटेकाले यस्ता गतिविधिले सङ्घीयता कार्यान्वयनमा खटिएका कर्मचारीमा चुनौती थपिने भन्दै कर्मचारीको ज्यानको सुरक्षाको प्रत्याभूति नभएसम्म र वडाध्यक्ष खड्काले कर्मचारीसँग औपचारिकरुपमा माफी नमागेसम्म सम्पूर्ण कर्मचारीले नगरपालिकाको काम ठप्प पार्ने उल्लेख छ ।

यसबारेमा बुझ्न पटकपटक फोन गर्दा पनि वडाध्यक्ष खड्काले मोबाइल फोन उठाउनु भएन । यता नगरप्रमुख सोमप्रसाद मिश्रले भने घटनाकाबारेमा आफूले विस्तृत जानकारी नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “म आज नगरकोटको विकासका विषयमा चार वटा नगरपालिकाको बैठकका थिए, कार्यालयमा भएको घटनाबारे जानकारी पाएको छैन, भोलि कार्यालय पुगेपछि के हो, बुझौँला ।”
रासस

Skip This
Skip This
Logo