सांसद डा‍. सुनिल शर्माको पहलमा केएमसी र इटहरा सरोकार समाजबीच विशेष छुट सम्झौता

सांसद डा‍. सुनिल शर्माको पहलमा केएमसी र इटहरा सरोकार समाजबीच विशेष छुट सम्झौता

केन्द्रबिन्दु
738
Shares

काठमाडौं । इटहरा सरोकार समाज र काठमाडौं मेडिकल कलेज, (केएमसी) सिनामंगलबीच स्वास्थ्य सेवा प्रदानसम्बन्धी विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार समाजका सदस्यहरूले ओपीडी उपचारमा २५ प्रतिशत र भर्ना भई उपचार गराउँदा ५० प्रतिशत छुट पाउने उल्लेख छ।

सरोकार समाजका अध्यक्ष डा‍‍. विष्णुप्रसाद दाहाल र काठमाडौं मेडिकल कलेजकी कार्यकारी अध्यक्ष सोईना शर्माले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा इटहरा सरोकार समाजका सदस्यहरू, विशेष गरी काठमाडौं उपत्यकामा बसोबास गर्ने सदस्य तथा उनीहरूको परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको जनाइएको छ।

हस्ताक्षर कार्यक्रममा कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सांसद डा‍. सुनिल शर्मा साथै इटहरा सरोकार समाजका अध्यक्ष डा‍. विष्णुप्रसाद दाहाल र सदस्यहरु, नोबेल मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दिरा शर्मा बरालको पनि उपस्थिति रहेको थियो।

सम्झौता अनुसार, साधारण ओपीडी, भर्ना उपचारका साथै विशेष सेवाहरूमा छुट उपलब्ध हुने समाजका महासचिव दुर्वासा चौलागाईंले बताए । यद्यपि, स्वास्थ्य बीमा, औषधि, इम्प्लान्ट, सर्जिकल सामग्री, कन्सुमेबल आइटम्स तथा सरकारद्वारा निःशुल्क प्रदान गरिने सेवाहरूमा छुट लागू नहुने स्पष्ट गरिएको छ।

समाजका कोषाध्यक्ष पुष्प सिग्देलका अनुसार सम्झौताको अवधि एक वर्ष कायम रहनेछ र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिनेछ। आपतकालीन सेवाका लागि अस्पताल र समाज बीच सम्पर्कमा रहने फोन नम्बरहरू समेत उपलब्ध गराइएको छ।

सांसद डा. शर्माको नेतृत्वमा केएमसी अस्पताल सञ्चालित छ। उनकै पहलमा केएमसीको स्वास्थ्य टोलीले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको छ।

नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौं गरिब तथा विपन्न नागरिकहरूलाई सेवा प्रदान गर्दै आएका डा. शर्माले, स्वास्थ्य शिविरमा सम्भव नभएका गम्भीर बिरामीहरूलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत निःशुल्क उपचारको व्यवस्था गर्दै आएका छन् ।

सांसद शर्मा प्रतिनिधि सभाका एक मात्र तलब भत्ता नलिने सांसद पनि हुन्।

Logo