गैरआवासीय नागरिकताले नचिनेको भन्दै प्रवासी नेपालीहरुले मागे वंशजकै नागरिकता

गैरआवासीय नागरिकताले नचिनेको भन्दै प्रवासी नेपालीहरुले मागे वंशजकै नागरिकता

केन्द्रबिन्दु
198
Shares

काठमाडौं । प्रवासी नेपालीहरुले नेपाल सरकारबाट आफूहरुले वंशजकै नागरिकता पाउनुपर्ने माग राखेका छन् । हाल सरकारले प्रदान गर्न सुरू गरेको गैरआवासीय नागरिकताले नेपालीहरुलाई तेस्रो दर्जा दिएकोमा असन्तुष्टी पोख्दै उनीहरुले वंशजकै नागरिकताको निरन्तरताका लागि आवाज उठाएका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन) टेक्सस च्याप्टर र नागरिकता खोई अभियानले शनिबार टेक्ससको ड्यालसमा आयोजना गरेको कार्यक्रममा यो आवाज उठेको हो । कार्यक्रममा नागरिकता खोइ अभियानका संयोजक वासुदेव घिमिरले गैरआवासीय नेपाली नागरिकतालाई सरकारी निकायले नै नचिनेको गुनासो पोख्दै वंशजकै नागरिकता पाउनुपर्ने बताए ।

वंशजको नागरिकता निरन्तरता दिइएमा विदेशमा रहेका धेरै नेपालीहरुले नेपालमा निर्धक्क व्यवसायमा लगानी गर्ने, अवकाश जीवन बिताउन जाने हुँदा त्यसबाट नेपाललाई अरबौँ डलर रेमिट्यान्स, लगानीका रुपमा प्राप्त हुने बताएका उनले यसबाट सरकारलाई कुनै हानी नहुने पनि स्पष्ट पारे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, कोषाध्यक्ष सरोज सिग्देललगायतले सरकारले १९औँ शताव्दीको सोच बोकेर बस्नु सर्वथा अनुचित रहेको औंल्याए । विश्वमा दोहोरो नागरिकताको व्यवस्था रहेको र आफूहरुले पनि त्यो सुविधा पाउनुपर्ने उनीहरुको माग थियो ।

सो अवसरमा सहभागीहरु राजनीतिक नेतृत्वलाई प्रवासबाट गतिलो दबाब नपुग्दा र एनआरएनभित्र पदको छिनाझप्टीले गर्दा मूल मुद्दा ओझेलमा परेको धारणा राखेका थिए ।

अब नागरिकता खोई अभियानले आइतबार टेक्ससको ह्युस्टन र अर्को सप्ताहन्त लसएञ्जलसमा अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।

Skip This
Skip This
Logo