काठमाडौँ
साउथ एसिया प्यासिफिक समिटका लागि व्यस्त रहेका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ देखि सोल्टी होटलमै बसेका छन् । बिहीबार राती सोल्टी होटलमै सुतेका उनी शुक्रबार राती पनि त्यहीँ छन् ।
प्रधानमन्त्री निवास बालुवाटार छोडेरै ओली पत्नी राधिका र परिवारसँगै उनी सोल्टीमा बसेका हुन् । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार ओलीले राति सोल्टीमा केही विदेशी पाहुनासँग वार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीको साथमा नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधिसँगै छन् । शुक्रबार राति ओलीले त्यहाँ केही विदेशी पाहुनासँग भेटघाट गर्ने कार्यक्रम भएकाले उनी सोल्टीमै रहेका हुन् । यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग ओलीले दुई देशबीचको व्यापारिक सम्झौता सोल्टी होटलमै गरेका थिए ।
समिटमा सहभागी हुन् चार दर्जन भन्दा बढी मुलुकका राजनीतिज्ञ नेपाल आएका छन् । समिटमा विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, सभामुखसहित विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी छन् ।
यो सम्मेलन नेपाल सरकार, प्रतिनिधि सभा, युनिभर्सल पिस फेडरेसन (यूपीएफ), नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) र इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टेरियन फर पिस (आईएपीपी) को सहकार्यमा हुँदैछ ।
सम्मेलनलाई स्वीकार्य बनाउन आईक्यापलाई सहभागी गराइएको छ । यो संस्थामा विश्वका धेरै मुलुकका राजनीतिक पार्टी सदस्य छन् । तर सम्मेलनमा कोरियाली संस्था यूपीएस सहभागी हुनुले आशंका उब्जाएको छ । सरकारी निकायले उक्त संस्थालाई धर्म प्रचारक संस्थाको रुपमा हेर्छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया