काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा ७ हजार ८० वटा इलेक्ट्रिक भेहिकल (ईभी) गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि फागुनसम्म विभिन्न क्षमताका उक्त संख्यामा गाडी भित्रिएका हुन् ।
नेपालमा ईभी सवारीको प्रयोग बढ्दै गइराख्दा आयतमा पनि उल्लेखिय वृद्धि भइरहेको हो ।
विभागको तथ्यांक अनुसार ५० किलोवाट क्षमताका ईभी २५ सय ३१, ५१ देखि १०० किलोवाट क्षमताका ३८ सय ७९ र १०१ देखि २०० किलोवाट क्षमताका ६५४ वटा गाडीको आयात भएका छन् ।
यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको १४ र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको तथ्यांकले देखाएका छ । भन्सार विभागका अनुसार १६ अर्ब ६४ करोड ३२ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएका हुन् ।
विभागका अनुसार उक्त मूल्यको गाडी आयात हुँदा सरकारले १० अर्ब २२ करोड ११ लाख ६० हजार रुपैयाँ राजश्व संकलन भएको छ । नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनु साथै आवश्यक पूर्वाधार निर्माण गर्नले ईभीको प्रयोग बढ्दै गएको हो । सडक ईभीमय बन्दै जाँदा ईभीको आयात अझै वृद्धि हुने व्यवसायीहरू बताउँदै आएका छन् ।
कुन देशबाट कति भयो आयात ?
नेपालमा ईभी गाडीको उत्पादन नहुँने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबै भन्दा बढी भारत र चीनबाट हुन्छ । यो ८ महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट १४ सय ३६ र भारतबाट १ हजार ९४ वटा भित्रिएका छन् । यस्तै, विभागका अनुसार इन्डोनेसिया बाट ५० किलोवाट ब्याट्री क्षमता भएका एक वटा गाडी आएको छ ।
५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट ३१ सय ९७, भारतबाट ६८१ र कोरियाबाट एक वटा आयात भएको विभागको तथ्याङकले देखाएको हो । यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ६२४, जर्मनीबाट २४, कोरियाबाट २ र अमेरिकाबाट ४ वटा गाडी भित्रिएका छन् ।
विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट १० र जर्मनीबाट ३ वटा, अमेरिकाबाट एक वटा गाडीको आयात गरेर बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ ।यसका साथै ३०० किलोवाट माथिको अहिलेसम्म २ वटा ईभी गाडी चीनबाट आएको विभागको तथ्याङकमा उल्लेख छ ।





























प्रतिक्रिया