काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) बाट सम्मानित भएका छन् ।
इमानले बीमा प्राधिकरणका अध्यक्ष ओझा सम्मान तथा ‘बीमा क्षेत्रको अबको बाटो’ विषयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै उनलाई सम्मान गरेको हो ।
सम्मानका क्रममा ओझाले बीमा उद्योगको विकासका लागि नीति तर्जुमा साथैं सुधारको काममा आफू लागि गरेको बताए । बीमा प्राधिकरणले हाल नियामकीय व्यवस्थाहरूलाई सुधार गर्न प्रारम्भिक कार्य गरिसकेको ओझाको भनाई छ ।
‘बीमा कम्पनीहरूले भोगिरहेका समस्या समाधान र बीमा उद्योगलाई दिगो रूपमा विकास गर्न सहजता प्रदानको लागि एकीकृत निर्देशन जारी गर्न लागिएका छौं, बीमा क्षेत्रको अन्डरराइटिङको समस्या समाधानका लागि प्राधिकरण लागेको छ,’ उनले भने ।
यस्तै, इमानका अध्यक्ष रोयल आचार्यले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै यो क्षेत्रको विकासका लागि ओझाको योगदान महत्वपूर्ण हुने बताए । ‘उहाँ आफै आर्थिक पत्रकारिता क्षेत्रमा रहेर काम गरी यो क्षेत्रलाई सूक्ष्म रूपमा निहाली सक्नु भएको छ, बीमा क्षेत्रमा उहाँको योगदानलाई आफ्नो कार्यकालमा महत्वपूर्ण बनाउनु हुन्छ भन्ने विश्वास लिएका छौं,’ उनले भने ।
आचार्यले बीमा क्षेत्रलाई फराकिलो र दिगो विकासको प्राधिकरणले धेरै काम गर्न बाँकी रहेको पनि बताए । यसैगरी नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले लामो समय रोकिएर रहेको बीमा ऐन आउँदा यो क्षेत्रमा नयाँ बाटो खुलेको बताए ।
‘बीमा क्षेत्र अवसर र चुनौती दुवैको रूपमा हेरिन्छ, बीमा क्षेत्रको अभिभावक प्राधिकरण भएकाले यस क्षेत्रको उत्थानको लागि अध्यक्षबाट सकारात्मक काम केही हुन्छ भन्ने अपेक्षा बीमा कम्पनीले लिएका छन्,’ उनले भने ।
उक्त कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सीईओ शिवनाथ पाण्डे, एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्त, बीमा विज्ञ रबिन्द्र घिमिरेलगायत बीमा क्षेत्रसँग जोडिएर काम गर्नेहरूको पनि सहभागिता थियो ।































प्रतिक्रिया