काठमाडौं । निवारण फाउण्डेसनले सन्जीवनी परियोजनाअन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरेको छ ।
यस परियोजनाअन्तर्गत २०८२ साल जेष्ठ १ गतेदेखि सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका गाउँपालिकाहरू हुँदै नेपालका विभिन्न गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिने बताइएको छ।
निवारण फाउण्डेसन कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा दर्ता भई समाज कल्याण परिषद् मा आबद्ध रहेको एक गैर सरकारी संस्था हो । निवारण फाउण्डेसनले स्वास्थ्य, शिक्षा, बाल कल्याण, वातावरण संरक्षण तथा समुदाय विकासमा सुधार ल्याउने लक्ष्यका साथ विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ।
उक्त फाउण्डेसनल पहिलो चरणअन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु, रोगको पूर्व पहिचान गरी रोकथाम तथा निदानमा सहायता पुर्याउनु यस परियोजनाको मुख्य उद्देश्य हो ।
पहिलो चरणमा ५२ जिल्लाका २७५ गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य राखेको छ । यस शिविरमार्फत झण्डै ४ लाख ५० हजार ग्रामीण नागरिक प्रत्यक्ष लाभान्वित हुने बताइएको छ।
स्वास्थ्य शिविरमा नेत्र विशेषज्ञ, नाक/कान/घाँटी विशेषज्ञ, जनरल मेडिसिन विशेषज्ञ, दन्त विशेषज्ञ तथा सर्जनहरूसहितका दक्ष स्वास्थ्यकर्मीहरू परिचालित गरिने छन् । स्वास्थ्य शिविरमा बिरामीहरूलाई बिरामी दर्ता र सामान्य शारीरिक परीक्षण, रक्तचाप, रगत, पिसाब तथा अक्सिजनस्तर परीक्षण, आँखाको दृष्टि परीक्षण, कानको सुन्ने क्षमता परीक्षण, दाँतको परीक्षण, एक्स–रे तथा अन्य उपकरणद्वारा स्वास्थ्य परीक्षण, जटिल अवस्थाको पहिचान र रेफेरल सेवालगायत सेवा प्रदान हुनेछ।
प्रदेश अनुसार स्वास्थ्य शिविर आयोजना
निवारण फाउण्डेसनले सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी गरी पाँच प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ । सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय सरकार रहेका छन् । जहाँ ५४ गाउँपालिका समावेश छन् र ३५ वटा स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य फाउण्डेसनले राखेको छ।
फाउण्डेसनका अनुसार कर्णाली प्रदेशमा ४१ वटा स्वास्थ्य शिविर, गण्डकी प्रदेशमा ५४ वटा स्वास्थ्य शिविर, बागमती प्रदेशमा ५९ वटा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । यसैगरी सबैभन्दा बढी स्वास्थ्य शिविर कोशी प्रदेशमा सञ्चालन गरिने बताइएको छ । जहाँ ८६ वटा स्वास्थ्य शिविरको आयोजना गरिने बताइएको छ।































प्रतिक्रिया