सिरहा । गत फागुन २९ गते हराएकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ ।
गोलबजार नगरपालिका–९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ गते फागुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी फर्किनन् । मंगलबार बिहान गोठालाहरु झाडी बुट्यान छेउछाउबाट गन्ध चलेको चर्चा भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए ।
गोलबजार ९ का पूर्ववडाध्यक्ष रामपुकार कामतीले भने,‘एकातिर गाउँमा बालिका हराइरहेको खबर डढेलो झैं फैलिएको थियो । अर्कोतिर वनमारा झाडीभित्रबाट लास कुहिएको गन्ध आएपछि गाउँमा आशंका जाग्यो । दुर्भाग्यवश आशंका सत्यमा परिणत भयो । १३ वर्षीया गुलशना बोरामा बेरिएर खाडल भित्र मृत अवस्थामा फेला परिन् ।’
घटनास्थल पुगेका प्रहरीले घुर्मी खोला किनारमा तीन फिट खनेपछि जुटको बोरामा बेरिएको बालिकाको शब फेला परेको प्रहरी उपरीक्षक सन्तबहादुर बाखुले जानकारी दिएका छन् । उनले भने,‘लास पुरै कुहिएर चिन्न नसकिने अवस्थामा छ । कपडा र बाँकी रहेको शरीरको आकृतिबाट हराइरहेकी बालिका नै हुनुपर्छ भन्ने अनुमान लगाइएको छ । प्रहरीले बालिकाको शव पोष्टमार्टमका लागि सिरहा अस्पतालमा पठाउने तयारी गरेको छ । अपराधीले लास छिटो गलोस् भनेर खाडलमा नुन हालेर शव गाडेको फेला परेको छ ।
फागुन २९ गते हराएकी गुलशनाको खोजी गरिदिन उनकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा गत चैत १ गते निवेदन दिएकी थिइन् । सात दिन बितिसक्दा पनि छोरीको अत्तोपत्तो नलागेपछि अत्तालिएकी जाहेदाले पत्रकार बोलाएर लेखिदिन आग्रह गरेकी थिइन् । खातुनले प्रहरीले हराएकी छोरीको खोजी गर्न उदासिनता देखाएको आरोप लगाएकी थिइन् ।
गत चैत ६ गते इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक बाखुसँग गुलशनाको खोजीबारे जिज्ञासा राख्दा उनले भनेका थिए, ‘गुलशनालाई छिमेकी जिल्लामा पुर्याइएको सुराकी आएको छ । हामी निकै नजिक पुगिसकेका छौं । चाडै बालिकाको उद्धार गर्छौं ।’ तर दुर्भाग्यवश बालिकाको जीवित उद्धार गर्न प्रहरी असफल भएको छ ।
प्रहरी नायव उपरीक्षक बाखुले अब अनुसन्धान कुनै कसर बाँकी नराख्ने र अपराधी पत्ता लगाएरै छोड्ने बताएका छन् ।
छोरीको लास फेला परेको खबरले आमा जाहेदा खातुन र उनका परिवार स्तब्ध छन् । आमा जहेदा इन्तु न चिन्तु भएकी छिन् । गोबिन्दपुर गाउँ नै शोकाकुल भएको छ ।
उनले प्रहरीले आफू र आफ्नो परिवारलाई गुमराहमा राखेको आरोप लगाइन् । उनले भनिन्,‘बालिका भेटिसकिएको छ । चाँडै घर ल्याइदिन्छौ भनेर आश्वासन दिएका थिए । तर अहिले सग्लो लास पनि दिन सकेनन् ।’ प्रहरीले बालिकाको खोजीमा मेहनत गरेको भए आफ्नी छोरी जीवितै भेटिन्थ्यो भन्दै उनले प्रहरीले वास्तै नगरेको आरोप लगाइन् ।
मृत गुलशना खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् । त्यस अघि उनी स्थानीय मदर्सामा पढथिइन् ।































प्रतिक्रिया