काठमाडौँ
हरेक वर्ष बढ्दो सवारी दुर्घटनाका कारण सर्वसाधारणको यात्रा असुरक्षित बन्दै गइरहेको छ । सवारीसाधन तथा बाटोघाटोको सही व्यवस्थापन हुन नसक्दा दुर्घटनामा वार्षिक २ हजार भन्दा बढी व्यक्तिको ज्यान जाने गरेको गृह मन्त्रालयको तथ्यांक छ । हरेक वर्ष सवारी दर्ता हुनेक्रम बढ्दो छ तर सरकारले त्यसलाई व्यवस्थापन गर्न सकिरहेको छैन । दुर्घटना न्यूनीकरणका लागि सरकारले न त सवारीसाधनको सही व्यवस्थापन गर्न सकेको छ, न त बाटोघाटोको व्यवस्थापन नै ।
६ मंसिरमा डढेल्धुरामा स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएका थिए । त्यस्तै सो घटनाको भोलिपल्टै सप्तरीमा यात्रुवाहक बस खस्दा पाँच जनाको अकालमा ज्यान गयो भने २४ जना घाइते भए ।
यी त प्रतिनिधि घटना मात्रै हुन् । सरकारले सडक तथा सवारीसाधनको उचित मर्मत सम्भार तथा व्यवस्थापन गर्न नसक्दा यस्ता घटना हरेक दिन जसो बढेको बढ्यै छन् ।
यातायात व्यवस्था विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म ३२ लाख २१ हजार ४२ सवारीसाधन दर्ता भएका छन् । मुलुकभरि गुड्ने यतिका सवारीसाधनलाई सरकारले सही व्यवस्थापन गर्न सकेको छैन ।
सरकारले २० वर्ष पुराना सवारी सञ्चालनमा रोक लगाएको भए पनि कमजोर व्यवस्थापनका कारण पूर्ण रूपमा लागू हुन सकेको छैन । यातायात विभागका प्रवक्ता गोकर्ण उपाध्यायले सार्वजनिक सवारी अनुगमन तथा व्यवस्थापनमा सरकार चुकेको स्विकारे । उनले भने, ‘हामी सार्वजनिक सवारी व्यवस्थापनमा चुकेका छौं ।’
अहिले मुलुकभरका यातायात विभागमा जम्मा ८ सयको हाराहारीमा मात्रै कर्मचारी छन् । तर मुलुकभरका सवारी संख्या भने ३२ लाख भन्दा बढी छन् । थोरै कर्मचारीका कारण प्रभावकारी रूपमा अनुगमन तथा सवारी व्यवस्थापन गर्न समस्या भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।
विभागका अनुसार कुल सवारीको ९० प्रतिशत व्यक्तिगत सवारीसाधन छन् । तिनीहरूको व्यवस्थापन गर्न झनै जटिल हुने गरेको उपाध्यायले बताए । सवारी दर्ता बढेको तर त्यसको तुलनामा स्रोतसाधन तथा जनशक्ति नबढेकाले व्यवस्थापनमा समस्या परेको उनले बताए ।
यतिका सवारी गुड्ने मुलुकका सडकको हालत हेर्ने हो भने निकै दयनीय छ । मर्मत सम्भार गरेको भए पनि सुधारमा उल्लेख्य प्रगति भएको छैन । जसका कारण सवारी दुर्घटना बढिरहेका छन् भने त्यसको असर सर्वसाधारणले भोग्नु परेको छ ।
दुर्घटनामा कुन वर्ष कति मानिस मरे ?
आर्थिक वर्ष २०६८/६९ – १,८३७
आर्थिक वर्ष २०६९/७० – १,८१६
आर्थिक वर्ष २०७०/७१ – १,७८७
आर्थिक वर्ष २०७१/७२ – २,००४
आर्थिक वर्ष २०७२/७३ – २,००६
आर्थिक वर्ष २०७३/७४ –२,३८४
आर्थक वर्ष २०७४/७५– २,०९७
राजधानीबाट





























प्रतिक्रिया