दीपकराज गिरीकाे स्पष्टोक्ति- प्रबुद्ध नागरिकहरूको भेलामा राजावादीको कुरै थिएन

दीपकराज गिरीकाे स्पष्टोक्ति- प्रबुद्ध नागरिकहरूको भेलामा राजावादीको कुरै थिएन

केन्द्रबिन्दु
294
Shares

काठमाडौं । अभिनेता एवं निर्देशक दीपकराज गिरीले आफू देशको व्यवस्था उल्टाउने कुनै पक्षको समर्थनमा नरहेको प्रष्टीकरण दिएका छन् ।

बिहीबार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका प्रबुद्ध नागरिकहरूको अन्तरक्रियात्मक भेलाले आज हुन लागेको राजावादी आन्दोलनका सन्दर्भमा ६ बुँदे अपिल जारी गरेको थियो । उक्त भेलामा गिरीले पनि सहभागिता जनाएका थिए।

भेलाले शान्तिपूर्ण आन्दोलनलाई समर्थन गर्दै सबै पक्षलाई वार्तामा बस्न र सहमति खोज्न आह्वान गरेको थियो । तर, केही सञ्चारमाध्यममा ‘राजतन्त्रको पक्षमा खुले’ भन्दै आएकाे समाचारले भेलाको मर्मविपरीत अर्थ लगाएको भन्दै गिरीले असन्तुष्टि व्यक्त गरेका छन् । उनले भनेका छन‍्, “त्यो भेटघाटमा राजावादीको कुरै थिएन। हामीले शान्तिपूर्ण गतिविधिबारे छलफल गरेका थियौं। तर हेडलाइन किन यस्तो आयो, भगवान् जानून्।”

यो भेलाले कुनै राजनीतिक पक्षधरता नराखी शान्ति र संवादको वातावरण बनाउनुपर्नेमा जोड दिएको गिरीकाे भनाइ छ ।

प्रबुद्ध नागरिकहरूको भेलामा उद्योगी–व्यवसायी भाष्करराज राजकर्णिकार, भवानी राणा, कुशकुमार जोशी लगायत थिए । यस्तै, कलाकारमा दीपकसँगै मनिषा कोइराला, सञ्चार क्षेत्रबाट युवराज घिमिरे, जीवनराम भण्डारी, श्याम कँडेल, टिकाराम यात्री, दिरेकलाल श्रेष्ठ, आशिष शेरचन लगायत रहेका छन् । एमालेबाट संसदीय चुनाव लडेका पूर्वआइजीपी सर्वेन्द्र खनाल पनि भेलामा पुगेका थिए ।

‘वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासाहरु र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्ण आवाजहरूप्रति यो भेला ऐक्यबद्धता प्रकट गर्दछ ।’ भेलापछि जारी विज्ञप्तिमा भनिएको थियो, ‘प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन, राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुको वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ । हामी तपशीलका विभिन्न संस्था र विधामा आबद्ध व्यक्तिहरु सरोकारवालालाई सतर्क र सचेत पनि गराउन चाहन्छौं । यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने यसको जिम्मेवार स्वयं सरकार हुनेछ ।’

Logo