काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो हार व्यहोरेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ६ रनले स्तब्ध पारेको हो ।
राजस्थानले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रनमै समेटिएको हो । कप्तान रुतुराज गायकवडले सर्वाधिक ६३ रनको योगदान गरे । उनले ४४ बल खेली ७ चौका र १ छक्का प्रहार गरेका थिए । तर, टोलीलाई जिताउन भने सकेनन् ।
यसैगरी राहुल त्रिपाठी १९ बलमा २३, शिवम दुबे १० बलमा १८, महेन्द्रसिंह धोनी ११ बलमा १६ रन बनाएर आउट भए । रवीन्द्र जडेजा २२ बलमा २ चौका र १ छक्का प्रहार गरी ३२ र जेमी ओभरटन ४ बलमा ११ रन बनाई अविजित रहे ।
बलिङमा राजस्थानका वानिन्दु हसरंगाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १८२ रन बनाएको थियो । नितिश रानाले ३६ बलमा ८१ रन जोडे । प्लेयर अफ द म्याच उनले १० चौका र ५ छक्का प्रहार गरे । कप्तान रियान परागले ३७ रन जोडे ।
बलिङमा चेन्नईका खलिल अहमद, नुर अहमद र माथिशा पाथिरानाले २–२ विकेट लिए ।
पहिलो खेल जितेको चेन्नई त्यसयता लगातार दोस्रो खेलमा पराजित भएको हो ।
आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले पनि लगातार दोस्रो हार व्यहोरेको छ । लखनउ सुपर जायन्टसँग पहिलो हार व्यहोरेको हैदरावादले दोस्रो हार दिल्ली क्यापिटल्ससँग भोगेको हो ।





























प्रतिक्रिया