काठमाडौं । सोमबार (हिजो) करिब साढे ५ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिका रुपमा सक्रिय राजनीतिमा फर्किएका रवि लामिछाने जतिसक्दो छिटो संसद छिर्ने मनसायमा देखिन्छन् । सहकारी ठगी लगायतका विभिन्न आरोपमा फरक–फरक जिल्लाबाट धरौटीमा रिहा भएपनि लामिछानेको मुद्धाको किनारा लाग्ने छाँटकाँट भने देखिँदैन । मुद्धा किनारा नलाग्दै राजनीतिमा सक्रिय भएका उनी आज (मंगलवार) सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सभाकक्षमा पुगेर सांसद पद निलम्बन फुकुवाको माग गरेका छन् । सांसदहरुको दलबलसहित पुगेका उनको सभामुखसँग दोस्रो पटकको आग्रह हो ।
सभामुख घिमिरेसँग भेटवार्ता गरेर बाहिर निस्किने क्रममा पत्रकारसँग कुराकानी गर्दै लामिछानेले आफूविरुद्ध राज्य नै लागेको टिप्पणी गरे । सांसद पदबाट निलम्बन फुकुवा नभए अदालत जाने हो भन्ने पत्रकारहरुको प्रश्नमा लामिछानेले अदालत जानु अन्तिम विकल्प भएको बताए । ‘हामीले सभामुखलाई नै निलम्बन फुकुवाका लागि आग्रह गरेका छौँ,’ उनले भने, ‘सभामुखले निलम्बन फुकुवा गरिदिनु पहिलो विकल्प हो ।’
त्यसैमा पत्रकारले अर्को प्रश्न गरे, कहिलेसम्म अदालत जाने ? तर लामिछाने यस प्रश्नमा अक्क न बक्क भए र भने, ‘राज्य लागेपछि व्यक्तिको के लाग्दो रहेछ र ? मैले सभामुख र संसदबाटै समाधान चाहेको छु ।’
यता लामिछानेसँगको भेटवार्ताका क्रममा सभामुख घिमिरेले भने कानुनभन्दा माथि कोही नरहेको टिप्पणी गरेका थिए । उनले भने, ‘तपाईँसहितको संसद भएको भए राम्रो हुन्थ्यो । तर, मैले नियमावली हेरेर कानुनअनुसार गरेको हुँ । कानूनभन्दा माथि कोही छैन ।’

पर्साको मुद्धाबारे लामिछानेको धारणा !
सभापति लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धि मुद्धा पर्सामा पनि छ । तर चार जिल्लाबाट धरौटीमा रिहा भइसकेका लामिछानेको मुद्धा पर्सामा दर्ताका लागि विलम्ब भइरहेको छ । पर्साको मुद्दा किन विलम्ब भएको होला भनेर पत्रकारहरूले गरेको प्रश्नमा लामिछानेले भने, ‘सरकारले हतियार बनाएर पर्साको (मुद्दा) चाँही झुण्ड्याइराख्या छ । मान्छे लगाएर हालिएको मुद्दा हामीलाई थाहा छैन र हदम्याद छैन ? सबै थाहा छ । जगजाहेर नै छ ।’
सरकारलाई व्यंग्य कस्दै उनले अगाडि भने, ‘सरकारले छोप्यौं भन्ठान्या होला, हामी नाङ्गो देखिराख्या छौं । सरकार छोपिएको छ, छोपिएको छ भनिरहेको छ तीनकुनेको छोप्या जस्तो । तर, नाङ्गो भइसक्यो ।’
गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेका थिए । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गतेदेखि निलम्बन भएका लामिछानेले रिहा भएपछि माग १८ गते संघीय संसदको हिँउदे अधिवेशन सुरु हुने पहिलो दिन र आज गरी दुई पटक निलम्बित सांसद पद फुकुवाको माग गरेका हुन् ।
पर्साको मुद्धाको कारणले नै सक्रिय राजनीतिमा आउन ढिलाई गरेका लामिछाने अन्ततः उनी हिजो पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै औचारिक जिम्मेवारीमा फर्किए । जसरी हिजोदेखि सक्रिय राजनीतिमा लागेका लामिछाने संसद छिर्नमा मात्रै हतार देखिदैँनन्, विगत केहि महिनादेखि बोल्न समय कुरिरहेका उनी सदनबाटै आफ्नो कुरा राख्न चाहन्थे तर हिउँदे अधिवेशनको अन्तिम दिन भएका सम्भव भएन् ।
मुद्धाको किनारा नलाग्दै लामिछाने किन सक्रिय राजनीतिमा ?
पछिल्लो समय राजसंस्था पुनस्र्थापना गर्न राजावादीहरुले सडकदेखि सदनसम्म जोडतोडका साथ आवाज उठारहँदा रास्वपाको कित्ताकाट भएन भनेर आम सर्वसाधारणदेखि राजनीतिक वृतका गणतन्त्रवादी दलहरुका नेताहरुले पनि शंकाको दृष्टिकोण राखेका थिए । सोही परिस्थितिमा लामिछानेले सक्रिय राजनीतिमा ‘कमब्याक’ मात्रै गरेनन्, उनले रास्वपालाई गणतन्त्रवादी कि राजावादी भनेर शंका गर्नेहरुप्रति लक्षित गर्दै गणतन्त्रवादी दलहरुले ओढिरहेको खोल रास्वपाले नओढ्ने भन्दै कडा टिप्पणी गरे । ‘जहाँ तपाईं उभिरहनु भएको छ । त्यो गणतन्त्र नभएर लुटतन्त्रको खोल ओडिरहनुभएको छ । रास्वपाले खोल ओढ्दैन,’ लामिछानेले भने, ‘तपाईंको कर्तुत लुकाउन लागि तपाईंको कित्तामा उभिएर फोटो खिचाउने रहर रास्वपालाई छैन ।’
गत कार्तिक २ गते पक्राउ परेदेखि नै आंशिक रुपमा मौन रहेका लामिछाने बोल्ने समय नआएको भन्दै बोल्न मानिरहेका थिएनन् तर अहिले भने उनी कसरी छिटो संसद प्रवेश गर्न सकिन्छ भन्ने तयारीमा छन् । सांसद पद निलम्बन भएदेखि नै संसदीय नेताको जिम्मेवारीबाट हटाइए पनि रास्वपाले कुनै नेतालाई जिम्मेवारी दिएको थिएन ।
हिउँदे अधिवेशनको आज अन्तिम दिन भएपनि सदनकै स्वामित्वमा रहेका समितिमा सहभागी हुन र बाहिरै रहेर औचारिक रुपमा राजनीतिक गतिवधिमा पनि सहभागी हुन सहजता हुने भएकाले पनि सांसद पद फुकुवाको माग गरिरहेको देखिन्छ । यद्यपी अहिले मुद्धाको किनारा नलाग्दै उनी किन हतारमा राजनीतिमा सक्रिय भए भन्ने प्रश्नमा केन्द्रविन्दु डट कमसँग टेलिफोन संवाद गर्दै रास्वपाका प्रवक्ता मनिष झाले सभापति लामिछाने सक्रिय राजनीतिमा आउने उचित समय भएको प्रतिक्रिया दिए ।
उनले भने, ‘जव कुनै कुराको निश्चित समय हुन्छ अनि त्यसको उपयुक्त समय यो हो भनेर भनिन्छ । अनिश्चिततामा कति कुरेर बस्ने ? अनिश्चिततामा कुरेर बस्नुलाई त राजनीतिक सुझबुझ भनिँदैन फेरि । त्यसमा पनि कि त ८४ सम्म कुरेर बस्नुपर्यो कि त अर्काे चुनावसम्म कुरेर बस्नुपर्यो । अहिलेको गठबन्धनको चाँडै मन फेरेर निश्चित समय तोकिदिने पनि होइन । त्यसैले यसलाई हतारो होइन, यो त एकदम उचित समयमा कमब्याक भएको हो ।’
‘अदालतले दोषी ठहर नगरेपछि राजनीतिक प्रतिशोध साँधेर सांसद पद निलम्बन गरिराख्नु आवश्यक छैन । त्यसैले सांसद पद फुकुवाको माग दुई पटक गरिसक्यौँ तर अहिलेसम्म माग पूरा भएको छैन ।’ उनले थपे ।
अब तेस्रो पटक सभामुखसँग आग्रह गर्नुभन्दा पनि अदालती प्रक्रियामा जाने सम्भावना रहेको उनले बताए । लामिछाने ४ वटा जिल्लामा गरी कुल २ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि कास्की, काठमाडौं, रुपन्देही र चितवन पनि अनुसन्धान भएर मुद्दा चल्यो । यी चारै जिल्लामा थुनछेक बहसपछि रवि धरौटीमा छुटेका हुन् ।
लामिछाने सबैभन्दा पहिले कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा रिहा भएका थिए । पक्राउ परेको ८४ दिनपछि उनी पुस २५ गते कास्कीबाट थुनामुक्त भएका थिए । त्यसपछि फरक–फरक सहकारीको रकम अपचलन मुद्दामा काठमाडौंबाट माघ २ गते, रुपन्देहीबाट माघ १३ गते र चितवनबाट माघ २४ गते उनी धरौटीमा रिहा भएका थिए ।
लामिछाने स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा काठमाडौं जिल्ला अदालतमा ६० लाख, सुप्रिम सहकारीको रकम अपचलनमा रुपन्देही जिल्ला अदालतमा १ करोड र सहारा सहकारीको रकम अपचलनमा चितवन जिल्ला अदालतमा ५४ लाख धरौटी बुझाएर रिहा भएका थिए । लामिछानेविरुद्ध पर्सामा समेत सानो पाइला सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहेको छ । उनले सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिइसके पनि मुद्दा अगाडि बढेको छैन ।
चारै जिल्लाबाट धरौटीमा रिहा भएपछि लामिछाने तारिख बुझिरहेका छन् । कुनै पनि मुद्धाको किनारा नलाग्दै राजनीतिमा सक्रिय भएपछि उनीमाथि नैतिक प्रश्न उठ्ने कतिपय राजनीतिक विश्लेषकको भनाई छ । पार्टीगत जिम्मेवारी र राजनीतिबाट औपचारिक रुपमा टाढा रहेका लामिछाने पछिल्लो समय मठमन्दिरमा पुजाआजा र आफ्नै निवासमा सामान्य रुपमा दिनचर्या बिताइरहेका थिए । राजावादीहरुले तताएको राजनीतिक माहोलका बिचमा लामिछानेले औपचारिक रुपमै राजनीतिमा सक्रिय हुने तयारी थाल्नु अर्थपूर्ण छ ।































प्रतिक्रिया