काठमाडौं । रेनो ग्रुपले ३१ मार्चमा रेनो निसान अटोमोटिभ इन्डिया प्राइभेट लिमिटेडमा रहेको निसानको बाँकी ५१ प्रतिशत स्वामित्व खरिद गर्ने तयारी गरेको घोषणा गरेको छ ।
यस निर्णयसँगै भारतमा रहेको संयुक्त कम्पनी अब पूर्ण रूपमा रेनोको स्वामित्वमा जानेछ, जसले भारतीय अटोमोबाइल क्षेत्रमा ठुलो परिवर्तन ल्याउने अनुमान गरिएको छ । सन् २०१० मा रेनो र निसानले भारतमा संयुक्त रूपमा व्यवसाय सुरु गरेका थिए ।
सुरुवाती चरणमा निसानसँग ७० प्रतिशत स्वामित्व थियो भने रेनोसँग ३० प्रतिशत मात्रै थियो। पछि सन् २०२३ मा एक सम्झौताअनुसार निसानको स्वामित्व ७० प्रतिशतबाट घटेर ५१ प्रतिशतमा आएको थियो। अब रेनोले बाँकी ५१ प्रतिशत स्वामित्व पनि खरिद गर्ने निर्णय गरेको छ, जसपछि सो कम्पनी पूर्ण रूपमा रेनोको नियन्त्रणमा रहनेछ ।
नयाँ स्वामित्वपछि रेनोले भारतमा थप लगानी गर्ने, उत्पादन क्षमतामा सुधार ल्याउने र आफ्ना कार मोडलको विविधता बढाउने योजना बनाएको छ । साथै कम्पनीले आफ्नो चेन्नई कारखानालाई नयाँ प्रविधिसँग अपडेट गर्दै स्थानीय उत्पादन क्षमता बढाउने संकेत दिएको छ ।
रेनोको यो निर्णयले भारतीय अटोमोबाइल उद्योगमा महत्त्वपूर्ण असर पार्नेछ । कम्पनी पूर्ण रूपमा फ्रान्सेली स्वामित्वमा जाने भएकाले, यो अब रेनोका विश्वव्यापी रणनीतिहरू अनुसार संचालित हुनेछ। यसले भारतीय ग्राहकलाई नयाँ प्रविधि र उत्कृष्ट मोडल प्रदान गर्ने सम्भावना बढ्नेछ ।
सो अधिग्रहण सन् २०२५ को पहिलो ६ महिना भित्रै सम्पन्न हुने अपेक्षा गरिएको छ। यदि सबै प्रक्रिया सफलतापूर्वक पूरा भएमा, भारतको अटोमोबाइल उद्योगमा यो एक महत्वपूर्ण परिवर्तनका रूपमा लिइनेछ ।
नेपालमा समेत रेनोका सवारी साधन बिक्रीका लागि उपलब्ध छन् । यस अनुसार यो निर्णयले नेपाली अटोमोबाइल बजारमा समेत केही प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ ।































प्रतिक्रिया