(रामजी बलामी)
सार्वजनिक प्रशासनलाई थप प्रभावकारी बनाउने, स्रोत साधनको उच्चतम प्रयोग गर्ने, दण्डहिनताको अन्त्य गर्ने र मानव अधिकारको रक्षा गर्ने लक्ष्यका साथ गृह मन्त्रालयले सदाचार संहिता २०७५ जारी गरेको छ । मन्त्रालयले विभिन्न २० बुँदे सदाचार संहिता लागु गरेको हो ।
मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना २०७४, निजामती कर्मचारीको आचरण सम्बन्धी नियमावली २०६५ का आधारमा पदीय तथा पेशागत आचरण सम्बन्धी सदाचार संहिता लागु गरेको हो । यो संहिता गृह मन्त्रालय र यस अन्तर्गतका विभाग, निकाय, आयोजना, परियोजना वा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, कारागार लगायतका कार्यालयमा कार्यारत कर्मचारहिरुलाई लागु हुनेछ । तर करारमा कार्यारत व्यक्ति, संस्था, बिशेषज्ञ वा सल्लाहारहरुको हकमा भने करार सम्झौता अनुसार हुने संहितामा उल्लेख छ ।
सदाचार संहितालाई निजामती कर्मचारीको कार्य सम्पादन मूल्याकंनको आधारका रुपमा लिईन्छ ।
के के छन संहितामा ?
सहकर्मी र सहयोगीहरुको हकहितको ख्याल
यस अन्तर्गत हरेक कर्मचारीले ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृद्धिको लागि शान्ति, सुरक्षा र सुशासन’ को मूल नारा आत्मसात गर्न भनिएको छ । त्यस्तै ‘सुखी नेपाली र समृद्ध नेपाल’ बनाउने विषयमा ध्यान केन्द्रित बनाउनुका साथै जन प्रतिनिधी र जनताप्रति सुसम्बन्ध कायम गर्ने र नागरिकको मौलिक हकको सम्मान गर्नुपर्ने छ । त्यस्तै कर्मचारीले आफ्नो सहकर्मी र सहयोगीहरुको हकहितको ख्याल गर्नुपर्ने, कुनै पनि आधारमा कुनै पनि पूर्वाग्रह र भेदभाव गर्न नहुने, न्यायलयको फैसला पालना गर्नुपर्ने र सेवा प्रवाहमा तटस्थताको नीति अवलम्वन गर्नुपर्ने छ ।
समयमै कार्यालय आउने, स्विकृत नगरी बिदा नबस्ने
अब हरेक कर्मचारीले काम कारवाहीको सिलसिलामा मानव अधिकारको ख्याल गर्नुपर्ने छ । त्यस्तै काम गर्दा आईपर्ने प्रभाव, प्रलोभन, दवाव आग्रह, पूर्वाग्रह आदिबाट प्रेरित हुन नहुने, आई परेका चुनौतिका बारेमा जिल्ला सुरक्षा समितिमा छलफल गरी कारवाही गर्नुपर्ने पनि संहितामा छ । त्यसै गरी प्रमुख जिल्ला अधिकारीले मातहतका कार्यालयहरुको निगरानी र नियमन गर्नुपर्ने छ । त्यस्तै हरेक कर्मचारी तोकिएको समयमा कार्यालयमा आउने, राष्ट्रिय उद्धेश्यलाई ध्यानमा राखी काम गर्ने, पूर्व स्विकृत नलिई बिदामा नबस्ने, आवश्यकता पर्दा सार्वजनिक बिदामा पनि कार्यालय आउनुुपर्ने संहितामा उल्लेख छ । त्यस्तै तीनै तहका जन प्रतिनिधसँग समन्वय राख्ने, मातहतका कर्मचारीलाई निजी काममा नलगाउने, कार्यालयका गोप्यता भंग नगर्ने, बिदेशबाट फर्केको एक साताभित्र प्रतिवेदन बुझाउनु पर्ने सदाचार संहितामा भनिएको छ ।
पोशाक र परिचयपत्र अनिवार्य
संहिताको बुंदा नं. ५ मा उल्लेख भए अनुसार कर्मचारीले कुनै पनि राजनीतिक दलको टिका टिप्पणी गर्न पाइने छैन । कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाक र परिचयपत्र अनिवायरुपमा लगाउन पर्ने छ । अशिष्ट, अस्वभाविक, निन्दनीय र निर्दर्यी आचारण प्रस्तुत गर्न पाइने छैनन् । त्यसैगरी कर्मचारीले आफ्नो स्वार्थको विषयमा अरुलाई भेद्रभावमा गर्न पाइने छैन । आपूmलाई तोकिएको जिमेवारी हस्तान्तरण नगरेसम्म दायित्वबाट मुक्त हुने छैन ।
छिटो काम गरेवापत लाभ लिन नपाइने
संहितामा कर्मचारलिे सेवाग्रहीप्रति गर्नुपर्ने व्यवहारका बारेमा पनि उल्लेख छ । कुनै पनि कर्मचारीले कामको सिलसिलामा कार्यालयमा आउने सबैलाई समान मानवीय व्यवहार गर्नुपर्ने छ । फरक क्षमता भएका, ज्येष्ठ, बालबालिका र द्धन्द्धपीडितलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्नेछ । त्यसैगरी छिटो छरिटो कार्य सम्पादन गर्न प्रयत्नशील रहने, ढिलासुस्ती नगर्ने, अनावश्यक दुःख दिन नपाईने र छिटो काम गरि दिए वापत गैर कानूनी लाभ लिन नहुने पनि संहितामा उल्लेख छ ।
त्यसै गरी कुनै पनि काम गर्न समय लाग्ने भएमा अथवा काम नहुने भएमा सेवाग्रहीलाइै समयममै सोको जानकारी दिनुपर्नेछ । त्यसैगरी निर्वाचित जन प्रतिनिधीसँग समन्वय गर्ने, सबैसँग आदरपूर्ण र शिष्ट आचरण अपनाउने तथा मुलुकको शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि काम नगर्न पनि गृह मन्त्रालयले अनुरोध गरेको छ ।
वेबसाइट अपडेट गर्नुपर्ने
संहिताको बुंदा नं. ७ मा आम सर्वसाधारणको सूचनाको हक सम्बन्धी कुराहरु उल्लेख छ । यस अन्तर्गत हरेक कर्मचारीले गोप्य राख्नुपर्ने विषय बाहेक अन्य बिषयमा सर्वसाधारणले मागेको सूचना उपलब्ध गराउनुपर्ने, कुनै पनि सामाग्री खरिद गर्दा प्रक्रियागत नियम अनुसार गर्ने, नागरिक बडापत्रको ख्याल राख्ने काम गर्ने, सामाजिक सेवा संचालनमा अनुचित बाधा नगर्न भनिएको छ । त्यस्तै प्रमुख जिल्ला अधिकारीले हरेक महिना मातहतका सबै कार्यालयको सूचना अधिकारीहरुको बैठक राख्ने, प्रत्येक कार्यालयले सूचनाको हक सम्बन्धी ऐन बमोजिम हरेक ३÷३ महिनामा कार्यालयले गरेका कामहरु वेबसाइटमा प्रकाशन गर्नुपर्ने लगायतका कुराहरु छन् ।
विदेशी बैंकमा खाता खोल्न नपाइने
कुनै पनि कर्मचारीले स्विकृत नलिई विदेशी बैंकमा खाता खोल्न पाइदैन । यसका साथै संहितामा आर्थिक अनुशासन कायम राख्ने, प्रचलित कानुनभित्र रहेर मात्रै सार्वजनिक कोषको खर्च गर्ने, व्यक्तिगत काममा कार्यालयको स्रोत साधन प्रयोग गर्न नपाईने, सरकारी सवारीसधानको दुरुपयोग गर्न नपाईने, कुनै पनि उपहार ग्रहन गर्न नहुने, आयमा कर तिर्नुपर्ने लगायतका कुराहरु छन् ।
फेसबुक चलाउन नपाईने, बत्ती निभाउनुपर्ने
संहिताको बुंदा नं. १० मा यस बारेमा उल्लेख छ । सार्वजनिक हित र सम्पत्तिको प्रवद्र्धन शिर्षकमा उल्लेख भए अनुसार कुनै पनि कर्मचारीले कार्यालय समयमा कम्प्युटरमा खेल खेल्ने, सामाजिक संजालमा रमाउने, गीत बजाउने, अनधिकृत वेबसाइट चलाउन पाउने छैन । यसका अतिरिक्त कार्यकक्षबाट बाहिर जाँदा प्रयोग भईरहेको कम्प्युटर, बत्ती, हिटर, एसी, पंखा लगायतका उपहरण बन्द गरेर मात्रै निस्किुनपर्ने पनि संहितामा उल्लेख छ ।
उदाहरणीय बन्नुपर्ने
मन्त्रालयले जारी गरेको संहिता अनुसार अब हरेक कर्मचारी उदाहरणीय बन्ने कोसिस गर्नुपर्ने छ । आप्mनो निजी जीवनलाई सादा, सरल र मर्यादिन बनाउन आग्रह गरिएको छ । यसका साथै बालविवाह, बहुविवाह, छुवाछुत, बोक्सा बोक्सी जसता कार्यमा संलग्न नहुने, सार्वजनिक सम्पत्तीको विनाश गर्न नहुने, सामाजिक मूल्य मान्यतालाई समान सद्भावले लिने, भोजभटेर प्रचलित कानून अनुसार गर्ने, सामाजिक मर्यादा तथा शान्ति भंग हुने गतिविधि गर्न नहुने उल्लेख छ ।
कार्यालय सफा राख्नुपर्ने
संहितामा हरेक कर्मचारीले आफु बस्ने कोठा र कार्यालय सधै सफा राख्नुपर्ने भनिएको छ । आफूले सफा गर्न नसके सम्वन्धित निकायलाई समयमै जानकारी दिने, आफ्नो शाखाको महत्वपूर्ण फाइलहरु सुरक्षित राख्ने, आफुले कार्यालय छोड्दा बहालवाला कर्मचारीलाई हस्तान्तरण गर्ने, काम नलाग्ने फाइलहरु कानुन बमोजिम धुल्याउने लगायतका कुराहरु सदचार संहितामा उल्लेख गरिएका छन् ।































प्रतिक्रिया