भारतीय विदेश सचिवको नेपालमा २ दिन : के के भयो ? (भिडियोसहित)

भारतीय विदेश सचिवको नेपालमा २ दिन : के के भयो ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सीमा विवादपछि चिसिएको नेपाल भारतबीचको सम्बन्ध सुधारको पहल भएको छ । नेपाल भारतबीच करिव एक वर्षपछि औपचारिक वार्ता सुरु भएसँगै सम्वन्ध सुधार हुने संकेत देखिएको हो ।

वार्ता टोलीको नेतृत्व गर्दै नेपाल आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला बिहिवार बिहान १० बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । विदेश सचिव बनेपछि पहिलोपटक नेपालको औपचारिक भ्रमणमा आएका श्रृंगलाले विमानस्थलमा नेपाली भाषामै सम्वोधन दिएर नेपालीहरुको मन जित्ने स्ट्रयाटिजी अपनाएका थिए ।

व्यस्त समय तालिका बोकेर नेपाल आएका श्रृंगला बिहिवार नै सचिवस्तरीय वार्तादेखि उच्चस्तरीय भेटवार्तामा समेत सामेल भए । वार्तामा नेपालका तर्पmबाट परराष्ट्र सचिव भरतराज पौडेल सहभागी थिए ।

बिहिवार दिउँसो भएको सचिवस्तरीय वार्तामा भारतीय कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो ढंगले अघि बढनु पर्ने बताएका थिए । बैठकमा नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल भएको थियो । यसका साथै दई देशबीचको राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार–वाणिज्य, पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षा, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनलगायत विषयमा छलफल भएको थियो ।

वैठकमा द्विपक्षीय सहयोग एवं साझेदारीलाई थप घनीभूत तुल्याउन आपसी लाभका परियोजना अघि बढाउने सहमति भएको छ । यसका साथै दुवै पक्षबाट पारस्परिक हितको सहयोगका केही परियोजनाहरुका विषयमा विचारविमर्श भएको थियो । सीमा समस्याकै कारण परियोजनाहरु प्रभावित हुन नहुने तर्क नेपालले राखेको थियो । यसका साथै नेपालले सूचना तथा सञ्चार प्रविधि, अन्तरदेशीय सम्पर्क सञ्जाल तथा एकीकृत जाँचचौकी (आइसिटी) निर्माण लगायतका भौतिक पूर्वाधार विकासमा केन्द्रित रहेर आफ्नो धारणा प्रस्तुत गरेको थियो ।

यस्तै भैरहवामा एकीकृत जाँचचौकी निर्माणका लागि सहयोग गर्न नेपालले भारतीय प्रतिनिधीलाई आग्रह गरेको थियो । यसमा भारतको सकारात्मक जवाफ आएको छ । अध्यागमन र भन्सार सम्बन्धी सबै प्रक्रियालाई सहज बनाउन नेपाल–भारत सीमा क्षेत्रमा भारतले एकीकृत जाँचचौकी निर्माण गरिरहेको छ । वीरगञ्ज–रक्सोल र विराटनगर–जोगवनी नाकामा ती पूर्वाधार निर्माणपछि सञ्चालनमा आइसकेका छन् भने नेपालगञ्ज–रुपेडियामा पनि गत बिहीबारदेखि आइसिटी निर्माण थालिएको छ ।

वैठकपछि भारतीय विदेश सचिव श्रृंगलाले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विषयमा भएको छलफलले राम्रो सन्देश दिने बताएका छन् । थप विवरण हेरौं यो भिडियोमा :

Logo