हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट बनाउने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट बनाउने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपालका सबैभन्दा लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ । यो अपडेटले प्रयोगकर्तालाई अझ धेरै आकर्षक डिजाइन र थप उपयोगी फिचरहरू प्रदान गर्ने उद्देश्य राखेकाे कम्पनीकाे भनाइ छ ।

यो अपडेटमा त्यस रिलिजमा प्रयोगकर्ताहरूबाट आएका सल्लाह सुझावहरूलाई मध्यनजर गर्दै आवश्यक सुधारहरू पनि गरिएको छ।

विशेषतः यस अपडेटमा प्रयोगकर्ताहरूले नोट्स र इभेन्ट्स पेजलाई एकदमै नयाँ डिजाइनमा देख्न सक्नेछन् । प्रयोगकर्ताहरूले अब नोट्सहरू लेख्दा शब्दमा मात्र नभई तस्बिरमार्फत पनि आफ्नो योजना या सम्झनाहरूलाई व्यवस्थापन गर्न सक्नेछन् ।

नोट्समा तस्बिर राख्दा प्रयोगकर्ताहरूले त्यही उपलब्ध भएको तस्बिर प्रयोग गरेर, आफै तस्बिर अपलोड गरेर या आफैँले चित्र कोरेर पनि कलात्मक रूपमा आफ्नो नोट्सहरू राख्न सक्नेछन् । यसरी राखिएका नोट्सहरू तपाईँले हाम्रो पात्रोको क्यालेन्डर पेजमा पनि देख्न सक्नेछन् । त्यसबाहेक, प्रयोगकर्ताहरूले वर्षौँ देखि राखेका नोट्सहरू हेर्न या व्यवस्थापन गर्न पनि अब सहज भएको छ।

यस अपडेटमा प्रयोगकर्ताहरूले पाउने अर्को मुख्य कुरा भनेको हाम्रो पात्रोको नयाँ फिड पेज अर्थात् “फर यू” पेज हो। यो फिड पेजमा विभिन्न जानकारीमूलक र मनोरञ्जनात्मक सामग्रीहरू आकर्षक डिजाइनमा देख्न सकिन्छ। यहाँ स्वास्थ्य, शिक्षा, जीवनशैली, प्रेरणादायक भनाइ र रमाइला तथ्यहरू समेटिएका छन्, जसले प्रयोगकर्ताहरूको दैनिक प्रयोगलाई अझ अर्थपूर्ण र रमाइलो बनाउनेछ।

प्रयोगकर्ताहरूले फिड पेजमा रहेका सामग्रीहरूमा लाईक, कमेन्ट र शेयर गर्न सक्ने भएकाले यो पेज अत्यन्तै इन्टरेक्टिभ र आकर्षक बनेको छ। यसले प्रयोगकर्ताहरूबिच प्रत्यक्ष संवाद र अनुभव साझा गर्ने अवसर प्रदान गर्छ, जस कारण एप प्रयोग गर्दाको अनुभव अझ जीवन्त र सामूहिक हुनेछ।

त्यसबाहेक, प्रयोगकर्ताहरूले नयाँ वर्ष २०८२ को अवसरमा “नयाँ वर्ष विशेष पेज” पनि हेर्न सक्नेछन् । यस पेजमा वर्षभरिका महत्त्वपूर्ण घटनाहरू समेटिएको समीक्षा, आकर्षक इ-कार्डहरू र नयाँ वर्षसँग सम्बन्धित सम्पूर्ण जानकारीहरू समेटिएको छ। यस पेजमा २०८२ को साइत, बिदा, प्रमुख चाडपर्वहरू लगायत उचित मार्गदर्शन र प्रेरणाका लागि विस्तृत वार्षिक राशिफल पनि राखिएको छ। त्यसबाहेक यस पेजमा प्रयोगकर्ताहरूले २०८१ को सम्झना र २०८२ को उत्साहलाई समेटिएको आकर्षक क्विजहरू पनि खेल्न सक्नेछन्। नयाँ वर्षको उत्सवलाई अझ विशेष, जानकारीमूलक र भावनात्मक बनाउन यो पेजमा आवश्यक विवरणहरूलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ।

हाम्रो पात्रोको सीईओ शङ्कर उप्रेतीका अनुसार “हाम्रो लक्ष्य केवल पात्रो बनाउने होइन, एउटा यस्तो डिजिटल साथी निर्माण गर्नु हो, जसले तपाईँको दैनिक जीवन सजिलो बनाओस्। यो अपडेट हाम्रो प्रयोगकर्ताको सुझाव र आवश्यकता अनुसार तयार पारिएको हो। त्यसैले पनि यो प्रयोगकर्ताहरूको लागि अझ उपयोगी, अझ सहज र अझ व्यक्तिगत बन्नेछ”।

Logo