वैशाखमा जुम्ला–रारा अल्ट्रा म्याराथन

वैशाखमा जुम्ला–रारा अल्ट्रा म्याराथन

केन्द्रबिन्दु
15
Shares

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गामा आगामी वैशाख २७ गते छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ।

कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा हुने प्रतियोगिताले पर्यटन प्रवर्द्र्धनमा महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको छ।क्लबका संरक्षक तथा अन्तरराष्ट्रिय ओलम्पियन र गिनिज बुक अफ वल्र्ड रेकर्ड धावक हरिबहादुर रोकायको नेतृत्वमा यो प्रतियोगिता हरेक वर्ष हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

अन्तरराष्ट्रिय मापदण्डअनुसार कूल ५१ किलोमिटरको दूरी तोकिएको छ। अध्यक्ष शाहीले भने, “अघिल्ला वर्षमा ४९ किलोमिटर रहेको थियो। अहिले दौडको मार्ग परिवर्तन गरिएकोछ । जसमा खालीदेखि न्याउरीघाटसम्मको नयाँ पदमार्ग निर्माण भइरहेको छ।”

प्रतियोगिता सञ्चालना लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय जुम्लाले बजेट व्यवस्थापन गरेको छ। नयाँ रुट माथिल्लो मिलीचौरदेखि राराताल किनार, ठाकुर बाबाको मन्दिर हुँदै हुटुमा समापन हुनेछ।

दौडमा सहभागी खेलाडीहरूले तिरेको दर्ता शुल्कको १० प्रतिशत उच्च पर्वतीय प्रशिक्षण भवन निर्माणका लागि छुट्याइने छ। प्रतियोगितामा ५१ किलोमिटर अल्ट्रा दौड, पाँच किलोमिटर खुला दौड (उद्योगी, व्यापारी, कर्मचारी) र १० किलोमिटर विद्यार्थी दौड १९ वर्षमुनी गरी करिब एक सय जना सहभागी हुने जनाइएको छ।

क्लबका सचिव मधु न्यौपानेले दौडमा स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय धावकको सहभागिता रहने बताए। विगतका प्रतियोगितामा बेलायत, नेदरल्याण्ड, भारत, इटाली र अमेरिकाबाट धावकहरूले भाग लिएका थिए।

दौड चन्दननाथ भैरवनाथको आँगन, खलङ्गा बजारको जुम्लाबाट सुरु भई मुगुको रारा तालको हुटुमा समापन हुने क्लबका सचिव न्यौपानेको भनाइ छ। कूल ५१ किलोमिटर अल्ट्रा दौडका लागि सार्क राष्ट्रका धावकहरूले रु १४ हजार पाँच सय र अन्य देशका धावकहरूले रु २० हजार तिर्नुपर्नेछ भने नेपाली र स्थानीय धावकहरूका लागि रु पाँच हजार तोकिएको छ।

कूल ५१ किलोमिटर प्रतियोगितामा प्रथम हुने महिला र पुरुष दुवैतर्फ रु एक/एक लाख प्राप्त गर्नेछन् भने दोस्रो हुनेले रु ७५ हजार, तेस्रो हुनेले रु ५० हजार, चौथो र पाँचौ हुनेलाई रु २० हजार प्रदान गरिनेछ।

Skip This
Skip This
Logo