काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सलाई सहजै हराएको छ । आज आफ्नै मैदानमा भएको खेलमा लखनउले गुजरातमाथि ६ विकेटको जित दर्ता गरेको हो ।
यो हारसँगै नेट रनरेट घट्दा गुजरात दोस्रो स्थानमा झरेको छ । गुजरातको ६ खेलमा ८ अंक छ । यता पहिलो स्थानमा अपराजित रहेको दिल्ली क्यापिटल्सको २ खेल कम खेल्दा नै समान ८ अंक छ । लखनउ भने समान ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।
आज गुजरातले दिएको १८१ रनको लक्ष्य लखनउले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । लखनउको जितमा निकोलस पुरनले सर्वाधिक ६१ रनको इनिङ खेले । ३४ बल खेलेका उनले ७ छक्का प्रहार गरे । यसैगरी ओपनर एडेन माक्रमले ३१ बलमा ९ चौकाको मदतमा ५८ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन जोडेको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ३८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ६० रन जोडे । अर्का ओपनर साई सुदर्शनले ३७ बलमा ७ चौका र १ छक्काको मदतमा ५६ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए ।
ओपनरद्वय आउट भएपछि भने उही लय रहेन । सेरफाने रदरफोर्डले १९ बलमा २२ रन बनाउँदा जोस बट्लर १४ बलमा १६ रन जोडेर आउट हुन पुगे ।
बलिङमा लखनउका लागि सार्दुल ठाकुर र रवि विश्नोईले समान २–२ विकेट लिए । दीग्वेश राठी र अभेष खानको नाममा एक–एक विकेट रह्यो ।





























प्रतिक्रिया