नयाँ वर्षमा दुई पाङ्ग्रे सवारी किन्दा छुटैछुट, कुन ब्रान्डका कम्पनीले के ल्याए अफर ?

नयाँ वर्षमा दुई पाङ्ग्रे सवारी किन्दा छुटैछुट, कुन ब्रान्डका कम्पनीले के ल्याए अफर ?

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरूले आकर्षक अफरहरु सार्वजनिक गरेका छन् । यी अफरहरूले ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्ने उद्देश्य राखी कम्पनीहरूले नयाँ वर्षमा नयाँ अफर ल्याएका हुन् । 

यस्ता अफरमा समावेश भई दुई पाङ्ग्रे किन्दा ग्राहकहरूलाई पनि धेरै फाइदा पुग्ने अटोमोबाइल कम्पनीहरू बताउँछन् । त्यसैले पनि यस्तो अफरलाई अवसरको रूपमा हेरेर नयाँ दुई पाङ्ग्रे सवारी ग्राहक किन्ने गर्छन् ।  

नयाँ वर्षको लागि धमाधम नयाँ अफर ल्याइराख्दा ग्राहक पनि डिलरमा गएर सवारीका बारे बुझिरहेको देखिन्छ । सवारीको खरिदमा छुटसहितका अफरको व्यवस्था हुँदा नयाँ मोटरसाइकल तथा स्कुटर किन्ने योजना बनाएकाहरूलाई धेरै कम्पनीले सहज कर्जाको पनि व्यवस्थापन मिलाएका छन् । 

युवापुस्तामाझ लोकप्रिय दुई पाङ्ग्रे सवारी अन्य बेलामा भन्दा नयाँ वर्ष वा चाडपर्वमा धेरै खरिद हुन्छन् । यसपटक नयाँ वर्षमा पनि कम्पनीहरूले मोटरसाइकल तथा स्कुटर खरिदमा नगद छुटदेखि एक्सचेन्जसम्मका अफर ल्याएका छन् । 

दुई पाङ्ग्रेको क्रेजलाई मध्यनजर गर्दै ल्याइएका आकर्षक अफरले नयाँ बाइक किन्नेहरूलाई आकर्षण गरिरहेको हुन्छ । नयाँ सवारी किन्नेहरूको लागि अवसरको रूपमा हेरिने यस अफरहरुमा कुन कम्पनीले नयाँ वर्षमा के ल्याएका छन् त ? हेरौं– 

‘खुसीयाली साटा–साट’ 

भेस्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटो कर्पले नयाँ वर्षको लागि आकर्षक अफर ल्याएको छ । कम्पनीले ‘खुसीयाली साटा–साट’ नामक अफर योजना ल्याएको हो । उक्त अफरमा समावेश भई भेस्पा र अप्रिलियाको स्कुटर खरिदमा छुट, किस्ता सुविधा र उपहार प्राप्त गर्न सक्नेछन् ।  

भेस्पा तथा अप्रिलियाको स्कुटर खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ नगद छुट, ४.९९ प्रतिशत ब्याजदरको ईएमआई सुविधा र एक्सचेन्ज सुविधामा १० हजार रुपैयाँ बराबरको अतिरिक्त मूल्यांकन पाउने कम्पनीले जनाएको छ । त्यस्तै, हरेक खरिदमा ग्राहकले निःशुल्क हेल्मेट र किरिङ समेत प्राप्त गर्ने छन् भने  छिटो र सजिलो फाइनान्स पनि उपलब्ध गराइएको कम्पनीले बताएको छ ।  

‘नयाँ वर्ष लुयानको हर्ष’ 

ग्राहकलक्षित गर्दै लुयान नेपालले नयाँ वर्षको अवसर पारेर ल्याएको अफर हो, ‘नयाँ वर्ष लुयानको हर्ष’ । यो विशेष अफरअन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले १५ हजार रुपैयाँ नगद छुट पाउँछन् । उक्त अफरबाट स्कुटर खरिद गर्दा एक वर्षको सवारी कर, बाइक कभर, टी–शर्ट र हेलमेट निःशुल्क प्राप्त गर्नसक्ने पनि बताइएको छ । 

नगदमा खरिद गर्ने ग्राहकमा मात्र लागू हुने यस अफरसँगै कम्पनीले ग्राहकको सुविधाको लागि एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ । जसअनुसार ग्राहकहरूले पुरानो स्कुटर साटेर नयाँ लुयान स्कुटर सहज किस्तामा लिन सक्नेछन् । लुयानको एमएनके ३ र एस ९० मोडलका यी स्कुटरको मूल्य क्रमशः १ लाख ७७ हजार ६ सय र २ लाख १ सयमात्र रहेको कम्पनीले बताएको छ । 

‘थ्रिल अफ थ्री’ 

यामाहा नेपालले नयाँ वर्षको अवसरमा ‘थ्रिल अफ थ्री’ स्किम सार्वजनिक गरेको छ । यस अफर सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गरी तत्काल १ हजार रुपैयाँ जित्न सकिनेछ । 

नजिकैको यामाहा डिलरशिपमा गई आफूले शेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाई ५० हजारसम्मको नगद पुरस्कार र योजनाको अवधिमा ब्रान्ड–न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गरी १ लाखसम्मको नगद पुरस्कार समेत जित्न सकिने कम्पनीको भनाई छ । 

ग्राहकको लागि नगद पुरस्कारको साथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू समेत प्रदान गर्ने जनाएको छ । जसअन्तर्गत, स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडेलमा शून्य प्रतिशत ब्याजको ईएमआई जस्ता लाभ सामेल गरिएको छ । 

‘खुसीको मिटर’ 

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्षलाई लक्षित गर्दै ल्याएको अफर हाे, ‘खुसीको मिटर’ । यो अफरअन्तर्गत गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको कम्पनीले बताएको छ ।

‘खुसीको मिटर’ अफरसँग जोडिएर ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू पाउने कम्पनीले बताएको छ । सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ । 

जसअन्तर्गत जो कोही सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सकिने कम्पनीको भनाइ छ । उक्त उपहार प्राप्त गर्ने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शोरूममा खेल्न पाउने छन् ।

यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको ‘खुसीको मिटर’ रोकेर १ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन् । यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ ।

‘नयाँ वर्ष नयाँ हिरो’ 

नयाँ वर्षलाई लक्षित गर्दै हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले आकर्षक अफर ल्याएको छ । कम्पनीले यो नयाँ वर्षमा ‘नयाँ वर्ष नयाँ हिरो’ नामक अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकले ७ हजार नगद छुटका साथै हरेक हप्ता गरिने लक्की ड्रमार्फत २५ हजार नगद उपहार पाउनेछन् ।

फाइनान्स सुविधामा खरिद गर्न चाहने ग्राहकलाई इजी फाइनान्स सहित सरल किस्ता वन्दीको योजना समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । हिरोले नेपाली बजारमा एक्सपल्स, सुपर स्प्लेन्डर, एक्सट्रिम लगायत मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ भने स्कुटरमा जुम मोडल बिक्री हुँदै आएको छ ।  

‘सुपर सेभ अफर’ 

नेपाली नयाँ वर्षको अवसरमा ‘सुपर सेभ अफर’ पनि सार्वजनिक भएको छ ।  इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनराले ग्राहकहरूका लागि यो छुटको योजना ल्याएको हो । जसअन्तर्गत ग्राहकले यी ब्रान्डका स्कुटर खरिद गर्दा ६० हजार रुपैयाँसम्मको छुट पाउने कम्पनीले बताएको छ । 

अफरअन्तर्गत के.५ मोडेल १ लाख ६९ हजार ९०० रुपैयाँमा, रोबो–ए ३ लाख २० हजार ९०० रुपैयाँमा र एचडब्ल्युएके २ लाख ३६ हजार ९०० रुपैयाँमा उपलब्ध छन् । साथै, प्रत्येक स्कुटरमा निःशुल्क बीमा, फ्री हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने व्यवस्था गरिएको छ ।

‘जिहो जिन्दगी’ 

नेपालका लागि सीएफमोटो तथा जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘जिहो जिन्दगी’ नामक अफर ल्याएको छ । जिहो ईभी स्कुटरमा बिक्री गर्दै आएको उक्त कम्पनीले ग्राहकहरूलाई आफ्ना स्कुटर खरिद गर्न सहज होस् भनी उक्त अफर ल्याएको हो ।  

जिहो ईभी चढ्दै गरेका हालका ग्राहकले समेत रिफर गर्दा समेत १ वर्षको एएमसी प्याकेज निःशुल्क पाउने जानकारी दिएको छ । यसका साथै नयाँ स्कुटर खरिद गर्ने ग्राहकहरूले चाहिँ सिधै २० हजार रुपैयाँ नगद छुट पाउनेछन् ।

हरेक हप्ता उक्त हप्तामा खरिद गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विजेताले उल्लिखित छुट रकम बराबर थप रकम छुट पाउने छन् । त्यसैगरी अफर सकिए पश्चात् लक्की ड्रमार्फत आफूले खरिद गरेको रकमको ५० प्रतिशत रकम फिर्ता पाउने लगायतका अफर समेत उपलब्ध छन् । 

‘नव वर्ष २०८२ जितौँ टन्न धनराशी’ 

‘नव वर्ष २०८२ जितौँ टन्न धनराशी’ अफर सुजुकीको हो । सुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले सार्वजनिक गरेको उक्त अफर अन्तर्गत सुजुकी मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एसएमएस मार्फत ८ हजारदेखि १ लाख रुपैयाँसम्म नगद उपहार पाउनेछन् । 

ग्राहकले ३५००१ मा एसएमएस पठाएर उक्त रकम जित्न सक्ने कम्पनीले बताएको छ । साथै, ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटर दिएर ब्रान्ड न्यू सुजुकी बाइक एक्सचेन्ज गर्न समेत सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा कम्पनीले पुरानो बाइकमा उच्च मूल्याङ्कन दिने कम्पनीले जनाएको छ ।   

‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ 

सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्षलाई लक्षित ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत ग्राहकले एनके २५० मोडलको मोटरसाइकल खरिद गर्दा  ५ वर्ष सम्मको वारेन्टी पाउनुका साथै ५ प्रतिशत ब्याजदरमै २४ महिनाको सरल फाइनान्सको सुविधा पाउने छन् । 

त्यसैगरी नगद तथा एक्सचेन्जमा १५ हजार छुट पाउन सक्नेछन् । उक्त अफर अन्तर्गत २५० एनके खरिद गर्ने ग्राहकले निःशुल्क आफ्नो बाइकको फ्री–सेरामिक कोटिङ गरी बाइकलाई सुरक्षित राख्न सक्ने छन् । 

‘नयाँ युगको सवारी’ 

नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ युगको सवारी’ नामक अफर ल्याएको छ । यस अफरमा नगद छुटका साथै एक्सचेन्ज तथा फाइनान्स सुविधा पाइन्छ । कम्पनीले ल्याएको नयाँ युगको सवारी स्कीम अन्तर्गत ग्राहकले टीभीएसका नयाँ मोटरसाइकल र स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् ।

साथै, ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकलसँग टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् । पुरानो मोटरसाइकलमा अधिकतम मूल्यांकन गरिने कम्पनीले जनाएको छ । त्यस्तै, फाइनान्समा मोटरसाइकल तथा स्कुटर किन्न चाहाने ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमै कर्जा सुविधा पाउने कम्पनीले जनाएको छ ।

टीभीएसले लाइफटाइम वारेन्टीका साथै १ घण्टाभित्र पार्ट्स् उपलब्ध गराउन नसके पार्ट्स् नै निःशुल्क दिँदै आएको छ । त्यस्तै, कम्पनीले ग्राहकलाई एउटा हेल्मेट र आफूले बिक्री गरेको साधनमा लाइफटाइम वारेन्टी समेत दिने जनाएको छ । 

Logo